• १३ साउन २०८१, आइतबार

इस्वी सम्वतको नयाँ वर्षमा मिथिला सागरमा आन्तरिक पर्यटकको भीड

blog

धनुषाको मिथिला सागरमा इस्वी सम्वतको नयाँ वर्षको अवसरमा आन्तरिक पर्यटकको भीड । तस्बिर - विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, पुस १७ गते । इस्वी सम्वतको नयाँ वर्षको अवसरमा धनुषाको ढल्केवरस्थित पर्यटकीय स्थल मिथिला सागरमा आन्तरिक पर्यटक तथा पिकनिक (वनभोज) मनाउनेहरूको भीड लागेको छ । 

मधेश प्रदेशकै प्रमुख पर्यटकीय स्थलका रूपमा विकसित भइरहेको मिथिला सागरमा टाढा–टाढाका पर्यटक घुम्न तथा पिकनिक (वनभोज) मनाउन आएका छन् । 

नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न र सामूहिक रूपमा पिकनिक खाँदै रमाइलो गर्न पर्यटकहरू यहाँ आएका हुन् । पर्यटकको बढ्दो उपस्थिति ध्यानमा राख्दै मिथिला सागर संरक्षण समितिले मिथिला सागर क्षेत्रको सौन्दर्यकरण, सरसफाइ, खानेपानी र सुरक्षा व्यवस्था कडा बनाएको छ । 

ढल्केवर चोकबाट तीन किलोमिटर उत्तरमा पर्ने मिथिला सागर पर्दछ । पोखरी दमार सामुदायिक वन क्षेत्रमा रहेको मिथिला सागरमा दुई सयभन्दा बढी समूह पिकनिकका लागि आएको संरक्षण समितिका पदाधिकारी देवराज घिमिरेले बताउनुभयो । 


उहाँले अघिल्लो अङ्ग्रेजी नयाँ वर्षको तुलनामा यसवर्ष अधिक सङ्ख्यामा पर्यटक आएको जानकारी दिनुभयो । यस पर्यटकीय स्थलमा देशका विभिन्न स्थान र भारतबाट समेत पर्यटक आएका छन् । 

वर्षको सुरुका दिनमा रमाइलो गर्दा वर्षभर खुसी मिल्ने विश्वासमा नयाँ वर्षलाई विशेष महत्त्व दिने गरिएको पाइन्छ ।  

जिल्लाको ढल्केवरस्थित मिथिला सागर, कमला नदी, लगायतका पर्यटकीय स्थलमा समेत आन्तरिक पर्यटक तथा पिकनिक मनाउनेहरूको भीड छ ।