• १३ साउन २०८१, आइतबार

नयाँ वर्षमा छैन रौनक, पर्यटकको पर्खाइमा हाेटल व्यवसायी

blog

चरिकोट बजार । तस्बिर – सुजन काफ्ले

सुजन काफ्ले   

चरिकोट, पौष १७ गते । विगतका वर्षहरूमा अङ्ग्रेजी नयाँ वर्षहरूमा पनि दोलखाका होटलहरू भरिभराउ हुने गरेका थिए तर यो वर्ष भने होटलहरुमा खासै रौनक छाएको देखिँदैन । जिल्लाको मुख्य पर्यटकीय क्षेत्रमा पनि पर्यटकको चहलपहल खासै बढेको छैन ।

आन्तरिक तथा बाह्य पर्यटकले धानेको होटल क्षेत्रमा अङ्ग्रेजी नयाँ वर्षमा रौनक नदेखिएको कालिन्चोक कुरीका होटल व्यवसायी हरि वलीले बताउनुभयो । जिल्लाको मुख्य पर्यटकीयस्थलका रूपमा चिनिने कालिन्चोक, जिरी शैलुङ खरीढुङ्गालगायतका क्षेत्रमा पर्यटकको चहलपहल न्यून भएको पर्यटन व्यवसायीहरूको गुनासो छ । 

‘हरेक नयाँ वर्षले पर्यटन बजारमा छुट्टै रौनक ल्याउने गर्दथ्यो यसरी आउने रौनकलाई हामीले आफ्नो व्यापार विस्तारको राम्रो मौकाको रूपमा लिने गर्दथ्यौँ ।’, व्यवसायी वली बताउनुहुन्छ ।

जिल्लाका उच्च हिमाली क्षेत्रमा यो वर्ष हिमपात भएको छैन । गएको वर्षमा तीन पटक सम्म हिमपात भएकोमा यसपालि हिमपात नभएका कारण आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा कमी आएको कालिन्चोकका अर्का होटल व्यवसायी चन्द्रकुमार लामाले बताउनुभयो । धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोकमा आउने पर्यटकको पहिलो रोजाइ हिउँसँगै रमाउने रहेको थियो ।

हिउँ खेल्नकै लागि भारतीय मूलका पर्यटक समेत कालिन्चोक आउने गरेको व्यवसायी लामाले बताउनुभयो । कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी साना ठूला गरेर एक सय भन्दा बढी होटल छन् । दोलखा सदरमुकाम होटलहरुमा पनि पर्यटकको खासै चाप बढेको छैन । गएका वर्षहरूका पहिले नै बुकिङ भइसक्ने होटल यो वर्ष भने त्यस्तो अवस्था नरहेको चरिकोटका होटल व्यवसायी सुदर्शन कार्कीले बताउनुभयो ।