• २० असोज २०८१, आइतबार

मानवता जोगाउन नेपथ्यको अपिल

blog

चाँदनी हमाल 

काठमाडौँ, पुस १७ गते । नेपथ्य समूहले नेपालमा मानवताको रक्षा गर्न सबै पक्षसँग अपिल गरेको छ । मानवता प्रवर्द्धनको अभियानसहित थालिएको एक महिने नेपथ्य कन्सर्ट यात्रालाई काठमाडौँमा बिट मार्दै सो समूहले नेपालमा मानवता रक्षाको लागि सबै पक्ष एकजुट भएर हातेमालो गर्नुपर्नेमा जोड दिएको हो ।

आफ्नो अन्तिम सङ्गीत प्रस्तुतिका रूपमा काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा अङ्ग्रेजी नयाँ वर्ष २०२३ लाई स्वागत गर्दै नेपथ्यका प्रमुख गायक अमृत गुरुङले सडकमा ठिहिरिएर मर्नुपर्ने अवस्थाको अन्त्य गर्दै मानवताको रक्षा हुने वातावरण बनाउन अपिल गर्नुभयो ।


मानव सेवा आश्रमको आयोजनामा भएको संगीतिक कार्यक्रममा उहाँले आश्रममा आश्रित सडक मानवको जीवन सहज बनाउन धनले र नहुनेले श्रमले सघाउन अनुरोध गर्नुभयो ।

वरिष्ठ हास्यव्यङ्ग्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, पूर्व प्रधानमन्त्री नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाली काङ्ग्रेसका महामन्त्री पूर्वमन्त्री गगन थापा, पूर्व डिआइजी रमेश खरेल, एमाले नेतृ कोमल वली, अभिनेत्री आँचल शर्मालगायत नेपाल सरकारका सचिव तथा उच्चपदस्थ सरकारी अधिकारी सहभागी कार्यक्रममा गुरुङले नेपालमै रोजगारीको सिर्जना गरी ऊर्जाशील युवा वर्गलाई विदेश जान रोक्न पनि आग्रह गर्नुभयो ।


आश्रमका अध्यक्ष रामजी अधिकारीले समाजमा कसैले पनि खुला आकाशमुनि सहाराविहीन जीवन बिताउन नपरोस् भन्ने उद्देश्यले सेवा सञ्चालन गरेको बताउनुभयो । आश्रमले पारिवारिक पुनर्मिलन हुन बाँकी आश्रितको व्यवस्थापनका लागि देशभर निर्माणाधीन र निर्माण हुन बाँकी भवनको लागि आर्थिक सहयोगको जोहो गर्न नेपथ्यसँग सहकार्य गरेको हो ।


गायक गुरुङले नेपथ्य ब्याण्डको ‘छेक्यो छेक्यो’, ‘रेशम’, ‘तालको पानी’, ‘लामपाते सुरती’, ‘जोगले हुन्छ भेट’, ‘भेडाको उन जस्तो’, शिलफूल शिरैमा’लगायतका चर्चित गीत प्रस्तुत गर्नुभयो । साथै, ब्याण्डका कलाकारले मादल तथा गीतको अतिरिक्त प्रस्तुति दिनु भएको थियो ।

अन्तिम समयसम्म पनि दर्शकको चाप बढेपछि बन्द गरिएको टिकट बिक्रीपछि पनि बाहिरको पर्खाल र रुखमा चढेरसमेत दर्शकले मनोरञ्जन लिएका थिए ।


नेपथ्यको गीत सङ्गीत सँगसँगै झुमेका दर्शक स्रोताले भृकुटीमण्डपमै अङ्ग्रेजी नयाँ वर्ष र गायक गुरुङको जन्म दिन पनि एकसाथ मनाएका थिए ।

मानवता प्रवर्द्धनका लागि गत मङ्सिर १९ गते विराटनगरबाट सुरु भएको नेपथ्य संगीतिक यात्रा पुस १६ गते शनिबार काठमाडौँमा आएर सकिएको हो । यसअघि मङ्सिर १९ गते वीरगन्ज, २२ गते हेटौँडा, २५ गते चितवन, २९ गते नेपालगन्जमा संगीतिक कार्यक्रम भयो । त्यसपछि पुस ३ गते धनगढी, ६ गते सुर्खेत, ९ गते बुटवल र १२ गते पोखरामा भएको थियो ।

वि.सं २०६९ सालमा स्थापना भएको उक्त आश्रमले आठ हजार बढीको उद्धार गरेको छ । करिब ६ हजार जनालाई परिवारमा पुर्नमिलन गराइएको छ भने एक हजार ६०० सडक मानव आश्रममा रहनुभएको छ । धेरैजसो मानसिक रूपमा कमजोर, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिक र अशक्त तथा सडकमै जन्मिएका बालबालिका हुनुहुन्छ । 

देशका १९ जिल्लामा २३ शाखामार्फत सेवा गर्दै आएको छ । २०८२ सालभित्र नेपालका सडकलाई सडकमानवरहित बनाउने अभियानमा आश्रम सक्रिय छ ।