• २० असोज २०८१, आइतबार

गल्याङमा एकीकृत घुम्ती शिविर

blog

वालिङ समाचारदाता 

वालिङ, पुस १७ गते । गल्याङ नगरपालिकाले गाउँ–गाउँमा एकीकृत घुम्ती शिविर सुरु गरेको छ । ससानो कामका लागि पालिकाको कार्यालयमा नै पुग्नुपर्ने बाध्यतामा रहेका नागरिकको सुविधाका लागि एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

नगरप्रमुख भट्टराईले भन्नुभयो, “दूरदराजका जनताको दैनिकीलाई सहज तथा नगरपालिकाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन घुम्ती शिविर सुरु गरेका हौँ ।” उपचारका लागि गल्याङ नगर सदरमुकामसम्म पुग्न नसक्ने र आर्थिक अभावका कारण स्वास्थ्यको पहुँचसम्म पुग्न नसक्नेका लागि गाउँ–गाउँमा पुगेर शिविर सञ्चालन गरिएको हो । 

गल्याङ नगरपालिका–६, पिढी खोलामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविर तथा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा शिविरमा ३६० जनाले सेवा लिएका छन् । नगरपालिकाले प्रदान गर्ने सबैखाले सेवा जनताले आफ्नो घरआँगनमा पाउँदा खुसी देखिएको जानकारी दिँदै उहाँले भोलिका दिनमा पनि जनताको जीवनस्तर अभिवृद्वि गर्नेमा आफू लागिपर्ने बताउनुभयो । 

शिविरमा योजना सम्झौतादेखि लिएर बैङ्क खाता खोल्ने, स्वास्थ्य उपचार, बीउबिजनलगायत नगरपालिकाले प्रदान गर्ने सेवा स्थानीय नागरिकले गाउँमै लिन पाएका छन् ।

स्थानीयवासी सीता चापागाईले करिब तीन लाख रुपियाँसम्मको नगरस्तरीय योजनाको सम्झौता गर्न तथा बैङ्क खाता खोल्न पालिकाको प्रतिनिधि गाउँमै आएकोमा खुसी व्यक्त गर्नुभयो । यो कार्यबाट हामीलाई निक्कै सहज भयो । गाउँमा नै सम्झौता गर्न पायौँ, अब तत्कालै काम सुरु गर्छौं, उहाँले भन्नुभयो ।

नगरस्तरीय योजनाका लागि गाडी नै रिजर्भ गरेर नगरपालिकासम्म जानुपर्ने बाध्यता सुनाउँदै गल्याङ–६ का वडाध्यक्ष दीप गुरुङ (छिरिङ)ले भन्नुभयो, “बजारभन्दा टाढा रहेको गाउँमा सञ्चालन गरिएको घुम्ती शिविरले नागरिकलाई ठूलो राहत दिएको छ ।”