• २० असोज २०८१, आइतबार

बुद्धसिंह मार्ग निर्माण तीव्र पार्न दबाब

blog

तनहुँ समाचारदाता 

तनहुँ, पुस १७ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेलले बुद्धसिंह मार्गको निर्माण कार्यमा तीव्रता दिन दबाब दिनुभएको छ । 

वरिष्ठ नेता पौडेलले विनियोजित बजेटअनुसार निर्माण कार्य तत्काल पूरा गर्न सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको हो । उहाँसँगै गण्डकी प्रदेश सभा सदस्य जितप्रकाश आले, गण्डकी प्रदेशका निवर्तमानमन्त्री डोबाटे विश्वकर्मा, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, पूर्वाधार विकास कार्यालय तनहुँका सिनियर डिभिजन इन्जिनियर दिनेशकुमार घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो । 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा आफू पराजित भएपछि मार्ग अलपत्र परेकोले स्तरोन्नतिका लागि बजेट विनियोजन गर्न लगाएको र कामलाई ढिलाइ हुन नदिन स्थलगत निरीक्षण गरेको नेता पौडेलले बताउनुभयो ।

गण्डकी प्रदेशलाई तराईसँग जोड्ने वैकल्पिक मार्ग भन्दै २०४७ सालदेखि बुद्धसिंह मार्गमा ट्र्याक खोल्न थालिएको भए पनि यो मार्ग निर्माण अझै अधुरो छ । हाल बजेट विनियोजन भएपछि पुनः काम अघि बढेको छ । दमौलीदेखि सुढेसम्मको करिब १० किलोमिटर सडक कालोपत्रेका लागि टेन्डर भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । 

सो कार्यालयका वरिष्ठ इन्जिनियर दिनेशकुमार घिमिरेका अनुसार ठेक्काको जिम्मा मैनाचुली सफल जेभी काठमाडाँैले पाएको छ । २०७९ भदौ २७ गते सो निर्माण कम्पनीसँग सम्झौता गरेको हो । यो सडक सात मिटर चौडाइ (दुई लेन)को हुनेछ । 

दमौलीबाट पृथ्वी राजमार्ग हुँदै चितवन जानुभन्दा बुद्वसिंह मार्ग भएर जाँदा २३ किलोमिटर दूरी छोटो पर्ने कार्यालयले जनाएको छ । दमौलीदेखि घुमाउनेसम्म ३२ किलोमिटर दूरी पर्छ । घुमाउनेमा त्रिशूलीमाथिकोे झोलुङ्गे पुल तरेपछि मुग्लिन–नारायणगढ सडक भेटिन्छ । घुमाउने मुग्लिनबाट १३ किलोमिटर अगाडि (नारायणगढतर्फ) पर्छ । 

कम्तीमा ३३ महिनाभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । चालू आर्थिक वर्षमा भ्याटसहित ३४ करोड २७ लाख ५४ हजार ५६१ लाखको लागतमा सम्पन्न हुने बताइएको छ । 

कटिङ, टेवा पर्खाल, नाला निर्माण, ग्याबिन तारजाली र १० किलोमिटर अल्फाल्ट पिचका लागि सो बजेट लगानी हुने उहाँले जानकारी दिनुभयो । उक्त मार्गमा करिब चार साना ठूला पुल निर्माण गर्नुपर्ने छ । घिमिरेका अनुसार उक्त मार्गको करिब आठ किलोमिटर दूरी तल्लो सेती परियोजनाले डुबानमा पर्ने भएकाले नयाँ ट्र्याक खोल्नुपर्ने अवस्था छ । गण्डकी प्रदेश सरकारले यो मार्गलाई प्राथमिकतामा राखेर बजेट निकासा गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा पनि समावेश भएको निवर्तमानमन्त्री विकले जानकारी दिनुभयो । 

शहीद बुद्धसिंह मार्गले तनहुँमा तीनवटा स्थानीय तहलाई छुन्छ । दमौलीमा ब्यास नगरपालिकाभित्र १४ किलोमिटर पर्छ । बन्दीपुर गाउँपालिकाभित्र ११ र आँबुखैरेनी गाउँपालिकाभित्र सात किलोमिटर खण्ड पर्छ । पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा बुद्धसिंह मार्गको ट्र्याक खोलिएको हो । 

पृथ्वी राजमार्गको पोखरा र मुग्लिन खण्ड फराकिलो पार्ने काम भइरहेकाले यातायात अवरुद्ध हुन नदिन बुद्धसिंह मार्गलाई प्राथमिकता राख्नुपर्ने देखिन्छ ।