• २० असोज २०८१, आइतबार

आधुनिक बसपार्कको डीपीआर तयार

blog

वालिङ समाचारदाता 

वालिङ, पुस १६ गते  । व्यवस्थित सवारी पार्किङको समस्या भोगिरहेको वालिङको समस्या समाधान हुने भएको छ। वालिङ नगरपालिकाको मुख्य बजारस्थित शीतलनगरमा आधुनिक बसपार्कको निर्माणसँगै सवारी पार्किङको समस्या समाधान हुने भएको हो। स्मार्ट सिटीको अवधारणाबाट अगाडि बढिरहेको वालिङमा सवारीसाधन व्यवस्थित रूपमा पार्किङ गर्ने ठाउँको अभावले बजार क्षेत्र अस्तव्यस्त हुँदै आएको थियो। 

सवारी पार्किङको समस्या समाधानका लागि सहरी विकास कोषसँगको सहकार्यमा बसपार्क निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो। आधुनिक बसपार्कलाई नमुना बसपार्कका रूपमा तयार गरिने उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “वालिङबाट छुट्ने तथा वालिङमा रोकिने ठूला, मझौला तथा साना सवारीसाधनको पार्किङको समस्या अब समाधान हुन्छ। सवारीसाधन अब सडक छेउ, निजी जग्गा वा अन्यत्र कहीँ पार्किङ गर्नुपर्दैन।”

बसपार्क निर्माणको काम केन्द्र सरकार र प्रदेश सरकारको समपूरक योजनाका रूपमा अघि बढाइने नगर उपप्रमुख कविता तिवारीले जानकारी दिनुभयो। उपप्रमुख तिवारीका अनुसार पब्लिक–प्राइभेट पार्टनरसीप (पीपीपी) मोडेलमा बसपार्क निर्माणको काम हुनेछ तर यसबारेमा कार्यपालिकाको निर्णयलाई आधार मानिनेछ। आधुनिक बसपार्कको टर्मिनल भवन, घेरा पर्खाल, वर्कसप, आन्तरिक बाटोलगायत सम्पूर्ण निर्माणका लागि १४ करोड ४१ लाख रुपियाँ बजेट अनुमान गरिएको छ। यसका लागि सहरी विकास कोषबाट ८० प्रतिशत ऋण तथा वालिङ नगरपालिकाको २० प्रतिशत लगानीमा काम सम्पन्न हुनेछ। निर्माण सम्पन्न भएपश्चात् बसपार्कमा प्रतिघण्टा ९६ वटा सवारीसाधन पार्किङ गर्न सकिनेछ।