• ९ मंसिर २०८१, आइतबार

देशमा राष्ट्रिय सहमतिको आवश्यक : वरिष्ठ नेता पौडेल

blog

तमू ल्होसारको अवसरमा आयोजित सांस्कृतिक तथा खुला भलिबल प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, पुस १५ गते ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभएको छ । व्यास नगरपालिका–६ खहरेमा मिलिजुली युवा क्लबले तमू ल्होसारको अवसरमा आयोजित सांस्कृतिक तथा खुला भलिबल प्रतियोगिताको शुक्रबार उद्घाटन गर्नुहुँदै वरिष्ठ नेता पौडेलले सो कुरा बताउनु भएको हो ।

सम्पन्नताको बाटोमा जानका लागि राजनीतिक स्थिरता, सुशासन, द्रुत विकास आवश्यकता भएको उहाँको भनाइ छ । ‘‘देशमा स्थायित्व, विकास, सुशासन र गाउँमै आम्दानी र रोजगारीका लागि राष्ट्रिय सहमतिको आवश्यक छ,’’ नेता पौडेलले भन्नुभयो । राष्ट्रिय सहमतिको तम्ततयार हुनका लागि राजनीतिक दललाई वरिष्ठ नेता पौडेलले आह्वान गर्नुभयो ।

‘राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न नेताहरुले हिक्मत गर्नुपर्छ ।,’’ वरिष्ठ नेता पौडेलले भन्नुभयो । कृषि क्रान्ति, पर्यटनको विस्तार तथा उद्योग व्यवसायको सञ्चालन आवश्यक भएको नेता पौडेलले बताउनुभयो ।

उन्नत र स्वावलम्बी समाज निर्माण गर्न जीवनोपयोगी शिक्षा, सर्वसुलभ र भरपर्दो स्वास्थ्य सेवा र श्रमको सम्मान गर्ने संस्कृति आवश्यक भएको पौडेलले जनाउनुभयो ।

रोजगारीको खोजीमा विदेश जाने युवा शक्तिलाई देशभित्र नै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रदान गरी श्रमप्रति सम्मान एवम् सकारात्मक सोचको विकास गराई स्वरोजगार तथा उत्पादनमुखी, उद्यमशील र सिपयुक्त नागरिक तयार गर्नुपर्ने  वरिष्ठ नेता पौडेलले बताउनुभयो ।