• २० असोज २०८१, आइतबार

मानवसेवा आश्रमका ज्येष्ठ नागरिकलाई ५० थान कम्बल वितरण

blog

कम्बल हस्तान्तरण गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीलगायत । तस्बिर – सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, पुस १५ गते । केही दिनयता चलेको शितलहर र हुस्सुले बाँकेमा अत्यधिक चिसो बढेपछि कर्मचारी मिलन केन्द्रले मानवसेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई ५० थान कम्बल वितरण गरेको छ । 

चिसो अत्यधिक बढेपछि उनीहरुलाई निकै समस्या परेको जनाउँदै मानव सेवा आश्रमले माग गरेअनुरुप ५० थान कम्बल उपलब्ध गराइएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष खडानन्द अधिकारीले बताउनुभयो ।  

शुक्रबार आश्रममै गएर बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर, कर्मचारी मिलन केन्द्रका अध्यक्ष अधिकारी, उपाध्यक्ष गोविन्द पाण्डे र नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठलगायतले कम्बल वितरण गर्नुभयो । 

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी खत्रीले चिसो अत्यधिक बढेकोले सचेत रहन सबैलाई आग्रह गर्दै अति नै आवश्यक परेकालाई विपद व्यवस्थापन समितिले पनि न्यानो कपडा वितरण गर्ने बताउनुभयो । 

न्यानो कम्बल पाएपछि निकै राहत महसुस भएको मानवसेवा आश्रम नेपालगञ्जका संयोजक सृजना वलीले बताउनुभयो । उहाँकाअनुसार हाल मानवसेवा आश्रमको संरक्षणमा ३३ जनाले शरण लिनुभएको छ ।