• २० असोज २०८१, आइतबार

मधेश प्रदेश सभाको पहिलो अधिवेशन पुस १८ गतेका लागि आह्वान

blog

जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालय ।

लक्ष्मी चौधरी 

जनकपुरधाम, पुस १५ गते । मधेश प्रदेश सभाको पहिलो अधिवेशन पुस १८ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले बिहीबार विज्ञप्तिमार्फत् सो अधिवेशनका लागि आह्वान गर्नुभएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश सरकार मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकबाट प्रदेश सभाको अधिवेशन आह्वान गर्ने निर्णय अनुसार सिफारिस भई आए अनुरुप नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख मिश्रबाट प्रदेश सभाको पहिलो अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले बताउनुभयो ।

मधेश प्रदेशमा कुल सांसदको संख्या १०७ रहेको छ । मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट नेकपा एमालेले प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सिट प्राप्त गरी मधेश प्रदेशको पहिलो दल सफल भएको छ ।

यसैगरी, नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिट प्राप्त गरी दोस्रो, जनता समाजवादी पार्टी प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६ सिट प्राप्त गरी तेस्रो, जनमत पार्टी प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिटसहित चौथो दल बनेको छ ।

यस्तै, लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी ९ सिट पाएर पाँचौँ, माओवादी केन्द्र प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ सिट पाएर छैठौं तथा एकीकृत समाजवादी प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट पाएर सातौँ दल बनेको छ ।

मधेश प्रदेशसभामा राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा १–१ सिट पाएका छन् भने यसपटक ६ जना स्वतन्त्र उम्मेदवारहरू पनि निर्वाचित भएका छन् ।