• २० असोज २०८१, आइतबार

महानगरद्वारा बालबालिकालाई न्यानो कपडा

blog

आधारभूत तहमा पठनपाठन गर्दै गरेका बालबालिकालाई न्यानो कपडा वितरण गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहाल । तस्विरहरु – शान्ता अधिकारी

शान्ता अधिकारी 

जगतपुर (चितवन), पुस १५ गते । भरतपुर महानगरपालिकाले स्कूले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । भरतपुर २८ वडामा रहेका १५ वटा आधारभूत विद्यालयहरुमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका झण्डै एक हजार जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गत कार्यकालमा शुरुआत गर्नु भएको मेयरसँग बालबालिका कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण कार्यक्रमलाई बिहीबार पहिलो चरणमा शुरु गर्नुभएको हो ।

महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलका अनुसार बिहीबार मात्रै भरतपुर–२८ मा रहेको आधारभूत विद्यालय सिसाबासमा आयोजित कार्यक्रममा एक हजार जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

भरतपुरको शिक्षालाई थप गुणस्तरीय बनाउने उदेश्यसहित विद्यालयमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईएको छ । चिसोका कारण विद्यालय जान रोकिन  नपरोस भनेर कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम विगतको कार्यकालदेखि नै सञ्चालन गर्दै आएको छ ।

महानगर प्रमुख रेनु दाहालको पहिलो कार्यकालमा भरतपुरका सामुदायिक विद्यालयमा मेयरसँग छात्रा कार्यक्रम अन्तरगत साईकल वितरण, विद्यालयलाई बस हस्तान्तरण जस्ता कार्यक्रमहरु शुरु गरिएको थियो । महानगर प्रमुख दाहालले शुरु गरिएका सबै कार्यक्रम निरन्तरता दिइने बताउनुभयो ।

उहाँले सामुदायिक विद्यालय तर्फको आकर्षण र शैक्षिक गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने बारेमा छलफल भइरहेको जानकारी दिनुभयो ।

महानगरले बिहीबार १२ वटा विद्यालयका ९८६ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

भरतपुर महानगरभित्र ११६ वटा सामुदायिक र ९७ वटा संस्थागत विद्यालय छन । ती मध्ये ७३ वटा आधारभूत तहका विद्यालय छन ।