• २० असोज २०८१, आइतबार

सामाजिक एकताको प्रतीक : उपराष्ट्रपति

blog

काठमाडौँ, पुस १५ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले तमु ल्होसारका अवसरमा तमु दिदीबहिनी तथा दाजुभाइ एवं समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।  

“बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र हो । यहाँ विभिन्न जातजाति, भाषाभाषी र धर्म संस्कृतिका समुदायको समिश्रित बसोबास छ । विभिन्न समुदायको आफ्नो भाषा, धर्म, संस्कार संस्कृति छन् । हामीमा विविधताबीचको एकता छ । यो नै हामी नेपालीको साझा पहिचान हो,” उहाँको शुभकामना सन्देशमा उल्लेख छ ।  

उहाँले पुराना वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै तमु (गुरुङ) समुदायले हर्षोल्लासका साथ मनाउने तमु ल्होछार÷ल्होसारले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता, भ्रातृत्व र सहिष्णुता कायम राख्नुका साथै सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाएर समुन्नत र समृद्ध नेपाल निर्माणमा अघि बढ्न सबैलाई ऊर्जा प्रदान गर्ने विश्वास लिएको उल्लेख गर्नुभएको छ ।