• २० असोज २०८१, आइतबार

मधेश प्रदेश सभा : ज्येष्ठ सदस्य न्यौपानेलाई शपथ ग्रहण

blog

प्रदेश प्रमुखसमक्ष शपथ ग्रहण गर्नुहुदै ज्येष्ठ सदस्य गोबिन्दबहादुर न्यौपाने । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, पुस १४ गते । मधेश प्रदेश सभा सदस्यमध्ये ज्येष्ठ सदस्यले बिहीबार प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच ज्येष्ठ प्रदेश सभा सदस्य गोविन्दबहादुर न्यौपानेलाई शपथ ग्रहण गराउनुभएको हो ।

कुर्तापैजामा पहिरनमा ७१ वर्षीय न्यौपानेले नेपाली भाषामा शपथग्रहण गर्नुभयो । उहाँ सप्तरी क्षेत्र नं. ४ (क) नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित सदस्य हुनुहुन्छ । शपथ ग्रहणपछि न्यौपानेले संवैधानिक व्यवस्थाअनुसार आफूले पहिलो शपथ खाएको बताउनुभयो । सत्ता समीकरणअनुसार भविष्यमा पाउने जिम्मेवारी निष्ठापूर्वक बहन गर्ने उहाँले विश्वास दिलाउनुभयो ।

शपथ ग्रहण समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, निवर्तमान सभामुख सरोजकुमार यादव, निवर्तमान उपसभामुख उपमा देव, अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सुरक्षा निकायका प्रमुख, विभिन्न मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो । 

न्यौपानेले भोलि १५ गते शुक्रबार दिउँसो २ बजे प्रदेश सभा हलमा अन्य सदस्यको शपथ ग्रहण गराउनु हुनेछ । सोहीअनुसारको सूचना जारी गरिसकेको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । 

प्रदेश सभामा १०७ सदस्यमध्ये दुई जना प्रदेश सभा सदस्यको मुद्दा अदालतमा विचाराधीन रहेकाले शुक्रबारको शपथ ग्रहण कार्यक्रममा सहभागी नहुने उहाँले जानकारी दिनुभयो । अब शुक्रबार प्रदेश सभामा १०४ जना सभा सदस्यले शपथ ग्रहण गर्नुहुनेछ । 

सचिव यादवका अनुसार प्रदेश सभा सदस्यले शपथ ग्रहण गर्ने भाषा र पहिरणको लागि प्रदेश सभा सचिवालयमा निवेदन प्राप्त भएको छ । नेपाली, हिन्दी, मैथिली, भोजपुरी, बाज्जिका, अवधि, थारु र उर्दु भाषामा शपथ ग्रहणका लागि निवेदन आएको बताउनुभयो । 

अघिल्लो पटक (तत्कालीन प्रदेश २) मधेश प्रदेश सभामा नेपालीसहित भोजपुरी, मैथिली, नेपाली र हिन्दी भाषामा शपथग्रहण गराइएको थियो । शपथ ग्रहणमा सहभागी हुन सभा सदस्यलाई निर्वाचन आयोगबाट प्राप्त सदस्यको प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र र दुई प्रति फोटोसहित राष्ट्रिय पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाक अनिवार्य गरिएको सचिवालयले जनाएको छ ।