• १२ असोज २०८१, शनिबार

मैत्रीपूर्ण फुटबलमा जनप्रतिनिधि विजयी

blog

उपाधि विजेता जनप्रतिनिधिको टोली लगायत । तस्बिर : गोरखापत्र

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस १४ गते । ताप्लेजुङमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि जनप्रतिनिधिले जितेको छ । कर्मचारीको टोलीलाई २–१ गोलअन्तरले पराजित गर्दै जनप्रतिनिधिको टोलीले उपाधि जितेको हो ।

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको कप्तानीमा प्रतियोगितामा सहभागी भएको जनप्रतिनिधि–११ ले खेलको पहिलो हाफमा १ गोल गरेको थियो । त्यसपछि दोस्रो हाफमा अर्को १ गोल थपेको थियो । जनप्रतिनिधि–११ को तर्फबाट मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकहाङबीर हङ्गामा र मिक्वाखोला गाउँपालिका–१ का वडाध्यक्ष राम फेम्सोङ लिम्बूले एक–एक गोल गर्नुभएको थियो ।

यता कर्मचारी–११ को तर्फबाट खेलको दोस्रो हाफको अन्त्यतिर जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशराम कार्कीले सान्त्वना गोल गर्नुभएको थियो । खेलमा सहभागी जिसस प्रमुख लामाले जनप्रतिनिधि र कर्मचारीबीच सौहाद्र्धपूर्ण सम्बन्ध कायम गराउनमा मैत्रीपूर्ण खेलले सहयोग पुग्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले मैत्रीपूर्ण खेल कसैको जित वा हारको रूपमा लिनेगरी नभई कर्मचारी र जनप्रतिनिधिबीच असल सम्बन्ध कायम गर्न प्रेरित रहेको बताउनुभयो । प्रतियोगिता नेपाली सेनाको तोक्मेडाँडास्थित भीमकाली गुल्मको खेल मैदानमा आयोजना गरिएको थियो ।