• २० असोज २०८१, आइतबार

मञ्जुको पीडा : काखमा दूधे बालक, पाठेघरमा क्यान्सर

blog

पाठेघरको क्यान्सर पीडित मञ्जु भट्ट । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, पुस १४ गते । बैतडीको सुर्नया गाउँपालिकाकी मञ्जु अवस्थी भट्टलाई पाठेघरको क्यान्सर हुँदा दुधे बालक काखमा बोकेर उपचार गराउन समस्या भएको छ । २४ वर्षीया मञ्जु भट्टको १६ वर्षमै विवाह भएर २४ वर्षको उमेरमा दुई जतकाल (दुई पटक सुत्केरी) हुँदा पाठेघरमा क्यान्सर देखिएको हो । 

उहाँले पाठेघरको शल्यक्रिया गरेर पाठेघर फाले पनि काखमा दूधे बालक छ । क्यान्सर रोग फैलिन नदिन चिकित्सकले ‘किमोथेरापी’ गर्न सल्लाह दिएको छ । आर्थिक समस्याले मञ्जुको उपचारमा समस्या थपिदिएको छ । 

म मरे भने नानीबाबु टुहुरा हुन्छन् । उपचार गर्न आफूसँग खर्च छैन । मलाई बचाइ दिनुहोस् ।

सानी छोरीको अनुहार हेर्दै मञ्जुले उपचार गरेर आफू बाँच्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो “म मरे भने नानीबाबु टुहुरा हुन्छन् । उपचार गर्न आफूसँग खर्च छैन । मलाई बचाइ दिनुहोस् ।”

बिरामी श्रीमतीको हेरचाह गर्न गोविन्द भट्ट भारतको मजदुरी छाडेर घर फर्किनुभएको छ । उहाँले पीडा सुनाउँदै भन्नुभयो, “दुई वर्षअघि बिरामी भएकी हुँ । अस्पताल जाने  खर्च पनि थिएन । श्रीमान् घर आएर उपचार गर्न जाँदा पाठेघरमा क्यान्सर भएको थाहा पाएँ ।” अप्रेसन गरेर पाठेघर फाल्नुपरेको उहाँले बताउनुभयो । “डाक्टरले क्यान्सर थप फैलिरहेको बताएपछि अहिले किमोथेरापी गरिरहेकी छु” उहाँले भन्नुभयो ।

२४ वर्षकै कलिलो उमेरमा पाठेघरको क्यान्सरबाट पीडित मञ्जुको अहिले चिकित्सकको सल्लाह अनुसार बाँकेको सुशील कोइराला प्रखर क्यान्सर हस्पिटलमा किमो चढाएर उपचार भइरहेको छ । मञ्जुका श्रीमान् भट्टले गाउँलेसँग ऋण निकालेर उपचार गर्न बाँके पुगेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “चिकित्सकले लामो समय उपचार गर्नुपर्ने सल्लाह दिनुभएको छ । उपचार गर्ने खर्च नहुँदा समस्यामा छौँ । हामीसँग अब बाँकेबाट बैतडीसम्म पुग्ने बस भाडा पनि छैन । गरिबलाई ऋण दिन पनि कसैले पत्याउँदैन ।”

दुई वर्षअघि बिरामी भएकी हुँ । अस्पताल जाने  खर्च पनि थिएन । श्रीमान घर आएर उपचार गर्न जाँदा पाठेघरमा क्यान्सर भएको थाहा पाएँ ।

भारतमा ज्याला मजदुरी गरेर बालबच्चा पाल्दै आउनु भएका गोविन्द भट्ट आफै पनि कान कम सुन्ने समस्याबाट पीडित हुनुहुन्छ । श्रीमती बिरामी भएपछि मजदुरीको काम छाडेर घर आए पनि श्रीमतीको कसरी उपचार गर्ने चिन्ताले उहाँलाई पिरोलेको छ । 

मञ्जुले समयमै पाठेघरको क्यान्सरको उपचार गर्न नसकेकै कारण शल्यक्रिया गरेर पाठेघर फालेपछि पनि क्यान्सर निको भएको छैन । समयमै उपचार गर्न सके क्यान्सर निको हुन्छ भनेर चिकित्सकले सुझाएपछि भट्ट श्रीमतीको उपचारमा कस्सिनुभएको हो । तर खर्च अभावले उहाँलाई चिन्ता थपेको छ । मनकारीले उपचार सहयोग गरिदिए आफ्नो बाँच्ने चाहना पूरा हुने बिरामी मञ्जुले बताउनुभयो ।