• २० असोज २०८१, आइतबार

नेपाल–भारत संयुक्त सैनिक अभ्यास

blog

संयुक्त सैनिक अभ्यासपछि सामूहिक तस्बिर खिचाउँदै नेपाल–भारतका सैनिकहरु । तस्बिर : जंगी अड्डा

काठमाडौं, पुस १४ गते । रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा पुस १ गतेदेखि सञ्चालित नेपाल–भारत संयुक्त सैनिक अभ्यास बिहीबार सम्पन्न भएको छ । अभ्यासको बलाधिकृत रथी सरोजप्रताप राणाले एक कार्यक्रमबीच समापन गर्नुभयो । 

विपद् व्यवस्थापनको समयमा गरिने खोज तथा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रति आतङ्कवाद जस्ता विषयहरु समावेश गरी सञ्चालन भएको उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्ले र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा दुवै देशका ३३४/३३४ जना सकल दर्जा सहभागी थिए । 


समापन समारोहमा, बलाधिकृत रथी सरोजप्रताप राणाले अभ्यास सफलतापूर्वक सम्पन्न गरेकोमा सहभागी सैनिकहरुलाई बधाई दिनुहुँदै तालिम प्रति देखाएको समर्पण, उत्सुकता र कडा परिश्रमले भविष्यमा आइपर्ने जस्तोसुकै चुनौतीलाई प्रभावकारी ढङ्गले समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । साथै, उहाँले सहभागी दुवै देशका सैनिकहरुलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।


उक्त समापन कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी बाबुराम श्रेष्ठ, मध्यपश्चिम पृतनाका पृतनापति उपरथी यामप्रसाद ढकाल, नं.३ बाहिनीपति एंव संयुक्त अभ्यासका अभ्यास निर्देशक सहायक रथी प्रेमबहादुर पुन, नं. २२ बाहिनीपति सहायक रथी नवराज गुरुङ, नेपालका लागि भारतीय सैनिक सहचारी कर्णेल अमित शर्मा, रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी तथा रुपन्देही जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो । 


यस संयुक्त सैनिक अभ्यासले दुई देशबीच कायम रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै दुवै देशको सेनाका सकल दर्जामा आधारभूत सैनिक सीपको विकास हुनुको साथै आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।