• २० असोज २०८१, आइतबार

दुई महिनापछि सडक सञ्चालन

blog

मुगु समाचारदाता

मुगु, पुस १४ गते । गमगढी–बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा आएको छ। असोजको तेस्रो साता परेको वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। छायानाथ रारा नगरपालिकाको पहलमा सडकमा खसेको पहिरो र ढुङ्गा पन्छाएपछि सडक सञ्चालनमा आएको हो।

लामो समयसम्म सडक बन्द हुँदा छायानाथ रारा नगरपालिकाका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्न र विद्यालय आउजाउमा विद्यार्थीलाई कठिनाइ भएको थियो। छायानाथ रारा नगरपालिका–१ की रामछिता नेपालीले सडक सञ्चालनपछि स्थानीयवासीलाई सुविधा पुगेको बताउनुभयो। 

सडक सञ्चालनसँगै गाउँमा उत्पादित कृषि उपज सदरमुकाम र जिल्लाबाहिर निकासी हुन थालेको छ। स्थानीय रामकृष्ण भामले स्थानीय उत्पादन कोदो, सिमी, फापर र धान जिल्लाबाहिरका व्यापारी आएर किनबेच हुन थालेको बताउनुभयो।

सडक सञ्चालनपछि बालुवा, गिट्टी र ढङ्गासमेत बिक्री बढेको छ। स्थानीयस्तरमा विकास–निर्माणमा प्रयोग हुने सामग्री ढुवानी गर्नमा सहजता भएको छायानाथ रारा पालिका–६ का स्थानीय  हर्कबहादुर कुलालले बताउनुभयो।

गमगढी–बालै सडक खुलाउन करिब एक हप्ता लागेको थियो। छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले नगरपालिकाको सहकार्यमा भौतिक पूर्वाधार विकास कार्यालयसँग सहकार्य गरी सडक सञ्चालनमा आएको हो। उक्त सडक स्तरोन्नति गरी कालोपत्रे गर्न प्रदेश र सङ्घीय सरकारसँग पहल गरिरहेको उहाँको भनाइ छ।