• १२ असोज २०८१, शनिबार

ऐतिहासिक स्थल संरक्षणमा चासो

blog

राधा लुइँटेल

फिदिम, पुस १४ गते । किराँत संस्कृति र इतिहाससँग जोडिएको पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ मा अवस्थित छालासुकुवा क्षेत्रका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थलको संरक्षण–प्रवद्र्धनका लागि स्थानीय सरकारले अग्रसरता देखाएको छ।

गाउँपालिकाले किराँत याक्थुङ चुम्लुङसहितका सांस्कृतिक संस्था र सरोकारवालासँग स्थलगत भ्रमण र अध्ययन गर्र्दै छालासुकुवासहितका यस्ता ठाउँको सम्भाव्यता अध्ययन तथा प्रवद्र्धन र प्रचारप्रसारका लागि पहल सुरु गरेको हो।

छालासुकुवा मानव सभ्यताको विकासँगै किराँत जातिको सभ्यता र संस्कृतिमा आधारित महत्वपूर्ण स्थल हो। जहाँ किराँती पुस्ताकी तिगेञ्जङ्ना नामक कन्याले कुमारी छँदै जन्माएका बाघ र मानवरूपी दुई जना दाजुभाइका युद्वको कथा जोडिएको छ। किराँत मुन्धुममा वर्णित छालासुकुवा डाँडो फाल्गुनन्द–७, आङ्सराङमा अवस्थित छ भने यसमा मिक्लाजुङ र कुम्मायक गाउँपालिकाको पनि सिमाना जोडिन्छ।

छालासुकुवादेखि १५ मिनेटको दूरीमा मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ मा बाघखोर गुफा छ। मानिस छिर्न सक्ने यो गुफामा मानव केसामीकी आमा तिगेनजङ्ना बसेर खेल्नुभएको थियो भन्ने किंवदन्ती पनि छ। फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्वे यतिको महत्वपूर्ण स्थानको विकास र संरक्षण गर्न अब गुरु योजना बनाएर अगाडि बढ्ने बताउनुहुन्छ।

सोहीअनुसार गाउँपालिकाले पहिलो पटक नेपाल पत्रकार महासङ्घ पाँचथर शाखासँगको सहकार्यमा पालिकाभित्रका ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलको सञ्चारकर्मी, जनप्रतिनिधि र सरोकारवालाको सहभागितामा स्थलगत भ्रमण गर्दै सम्भाव्यताको खोजी गरेको आङदेम्बेले बताउनुभयो। फाल्गुनन्द गाउँपालिकामा छालासुकुवा, नाम्सामी«–केसामी, सिलौती, सुकेपोखरी र लोहकिलसहित दर्जनभन्दा धेरै धार्मिक र ऐतिहासिक स्थल छन्।