• १२ असोज २०८१, शनिबार

झोलुङ्गे पुल कटानको जोखिममा

blog

कटानको जोखिममा परेको पुल ।

अविनाश चौधरी

धनगढी, असोज १२ गते । खुटिया नदीमा बनेको झोलुङ्गे पुल कटानको जोखिममा परेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुरझन्ना र गोदावरी नगरपालिका–९ धनचौरी जोड्ने झोलुङ्गे पुल कटानको जोखिममा परेको हो । 

नदीले धार परिवर्तन गरेपछि पुल जोखिममा परेको स्थानीयले जनाएका छन् । उनीहरूका अनुसार नदीले पूर्वतर्फ कटान गरिरहेको छ । कटानका कारण पूर्वतर्फ झोलुङ्गे पुल जोखिममा परेको छ । बेलैमा तटबन्ध नगरिए पुल कटान हुन सक्ने स्थानीय ज्ञानेन्द्र चौधरीले बताउनुभयो । 

नदीबाट गिट्टी, बालुवा उत्खनन् गरिएका कारण नदीले धार परिवर्तन गरेको उहाँको भनाइ छ । पुल कटानको जोखिममा परेपछि स्थानीयले नदीबाट गिट्टी, बालुवा उठाउन दिएका छैनन् । सो नदीबाट धनगढी उपमहानगरपालिकाले रोयल्टी उठाउँदै आएको छ । स्थानीय हर्षराज रानाले तटबन्ध नगरिएमा विद्यालय, स्थानीयको खेतबारी कटान हुने बताउनुभयो । 

धनगढी उपमहानगरपालिकाले तटबन्ध नगरेसम्म नदीबाट गिट्टी, बालुवा उठाउन नदिने स्थानीयको अडान छ । धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर दिजराज भट्टले कटान नियन्त्रणका लागि जनताको तटबन्धसहित नयाँ योजनाका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । 

नदीले गरिरहेको कटान अनुगमन गर्दै उहाँले झोलुङ्गे पुल जोगाउनका लागि तत्काल नदीको धार परिवर्तन गर्न आवश्यक देखिएको बताउनुभयो ।