• ११ पुस २०८१, बिहिबार

५० वर्ष अघिको गीत नयाँ संस्करणमा

blog

गीतको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रम । तस्बिर : मनोज रत्न शाही

काठमाडौँ, असोज १२ गते । वरिष्ठ गायक जुजुकाजी रंजितले ५० वर्ष अगाडि गाउनुभएको नेपाल भाषाको नाप च्वने मदुसां गीत पुनः नयाँ संस्करणमा सार्वजनिक भएको छ । हरिबहादुर रंजितको मौलिक सङ्गीतमा जुगल डंगोलको नयाँ सङ्गीत संयोजन तथा राजीव युगल श्रेष्ठको स्वरमा यो गीत तथा यसको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

एक समारोहबिच गरिएको कार्यक्रममा बागमती प्रदेशका सांसद शैलेन्द्र बज्राचार्यले नेपाल भाषा क्षेत्रमा लागि परेका सर्जकहरूका लागि आवश्यक बजेट विनियोजनको प्रयास भइरहेको बताउनुभयो । नीतिगत रूपमा पनि स्रष्टाहरूको सम्मान स्वरूप संरक्षणको बाटो पहिल्याउनुपर्ने बताउनुहुँदै सांसद बज्राचार्यले भाषा, गीत सङ्गीतको विकासका लागि आफू सदा तत्पर रहेको बताउनुभयो ।


यस गीतका मौलिक गायक जुजुकाजी रंजितले आफ्नो मन्तव्य राख्नु हुँदै गायकले आफ्नो सिर्जना निकाल्न गाह्रो भइरहेको अवस्थामा नेपाल भाषाको गीत सङ्गीतको संरक्षण र संवर्द्धनका लागि सङ्घ संस्थाले सहयोग गर्न अग्रसर हुनु पर्ने बताउनुभयो । २०३२ सालमा आफूले रेडियो नेपालमा गीत रेकर्ड गरेको तर आफू वैदेशिक शिक्षा लागि रसिया गएको समयमा अरूले यो गीत गाइदिएर आफ्नो नाम नै हराएकोमा दुःख व्यक्त गर्नुभयो । यसैगरी, वरिष्ठ फोटोग्राफर राजभाइ सुवालले म्युजिक भिडियो समालोचना गर्नुहुँदै नेपालभाषामा बन्दै गरेको म्युजिक भिडियोभन्दा फरक बनेको बताउनुभयो । आजको समय गीत सुन्ने मात्र नभएर हेर्ने समेत भइसकेको समयमा यो म्युजिक भिडियोका नै कारण नयाँ पुस्ता माझ यो गीत पुनर्जिवित भएको बताउनुभयो ।

यस गीतको प्रस्तोता समेत रहेका इलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले अहिलेको युग श्रव्य दृश्यको भएको हुनाले अब छापाबाट मात्र भाषा संरक्षणमा टेवा नपुग्ने भएका कारणले म्युजिक भिडियो, सर्ट मूभिहरु निर्माण गरी सर्जककोहरू सम्मानमा लागि रहेको बताउनुभयो ।

यस म्युजिक भिडियोको परिकल्पना तथा निर्देशन दर्शनवीर शाक्यले गरेको थियो भने यसको सम्पादन तथा छायाङ्कन मनोज रत्न शाहीले गरेका छन् भने किशोर चिपालु र रबिना तुलाधरले अभिनय गरेको छ ।