• १२ असोज २०८१, शनिबार

पन्तलाई पाँच हजार डलर पुरस्कार अवार्ड

blog

अवार्ड ग्रहण गर्नुहुँदै डा. विद्याप्रसाद पन्त ।

अविनाश चौधरी

धनगढी, असोज १२ गते । कैलालीका वरिष्ठ नेत्र चिकित्सक डा. विद्याप्रसाद पन्तले पाँच हजार अमेरिकी डलर पुरस्कार राशिको अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्नुभएको छ । 

डेनिस अप्थाल्मोलोजिकल सोसाइटीले आफ्नो वार्षिक सम्मेलनको अवसरमा उहाँलाई पाँच हजार अमेरिकी डलर पुरस्कार राशिको ‘बोबर्ग–एन्स लेक्चर एण्ड अवार्ड’ प्रदान गरेको हो । डेनमार्कको मिडलफर्ट सहरमा सम्पन्न सम्मेलनको अवसरमा आफूलाई सो अवार्ड मिलेको डा. पन्तले जानकारी दिनुभयो ।  

डेनिस अफ्थालमोलोजिकल सोसाइटीले उक्त अवार्ड प्रत्येक वर्ष अन्तर्राष्ट्रिय क्षेत्रमा आँखा सेवाको विकास एवम् विस्तार गर्ने चिकित्सकलाई प्रदान गर्ने गर्दछ । डा. पन्तले एसियाली मुलुकबाट यो अवार्ड पाउनेमा आफू पहिलो नेत्र चिकित्सक बनेको बताउनुभयो । उहाँले अवार्ड प्राप्तिले गौरवान्वित महसुस भएको उल्लेख गर्नुभयो । 

डा. पन्त सन १९८४ देखि आँखा उपचारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँले कैलालीको गेटा आँखा अस्पतालमा २४ घण्टामा ३१२ जनाको आँखाको शल्यक्रिया गरेर विश्व रेकर्ड बनाउनुभएको छ ।