• १४ माघ २०८१, सोमबार

बाढी पहिरोले १४ को मृत्यु, ११ बेपत्ता, उद्धारको काम जारी

blog

बाढी पहिरोका कारण मृत्यु भएकाहरूको शव । तस्बिर : सशस्त्र प्रहरी ।

गोरखापत्र अनलाइन

काठमाडौँ, असोज १२ गते । बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण नेपालका विभिन्न जिल्लामा भएको घटनाको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट १ हजार ६ सय ३० जनशक्ति परिचालन भएका छन् । वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी १४ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, १ सय ६२ स्थानहरूमा भौतिक क्षति भएको छ । सुरक्षा फौजले ७ सय ६० जनाको सकुशल उद्धार गरेको जनाएको छ । 

पाँचथरको विभिन्न ठाउँहरूमा २ जनाको मृत्यु, १ ठाउँमा भौतिक क्षति भएको छ । सो स्थानमा उद्धारका लागि १० जना सुरक्षा फौज खटिएका छन् । यसैगरी ओखलढुङ्गामा पनि एक स्थानमा भौतिक क्षति भएको छ ।

धनकुटामा पहिरोका कारण २ जना बेपत्ता, २ जनाको मृत्यु र एक स्थानमा भौतिक क्षति भएको छ । उद्धारका लागि १३ जनाको सुरक्षा फौज खटिएको छ ।

यसैगरी झापा जिल्लाका विभिन्न ठाउँमा डुबानमा परी ७७ स्थानहरूमा भौतिक क्षति, १ जनाको मृत्यु भएको छ । ४३ जनाको सुरक्षा फौजले ३ सय २५ जनाको सकुशल उद्धार गरेको जनाएको छ । 

मोरङका विभिन्न ठाउँहरूमा डुबानमा परि ५८ स्थानहरूमा भौतिक क्षति भएको छ । २३ जनाको सुरक्षाकर्मीले एकसय ७६ जनाको सकुशल उद्धार गरेको जनाएको छ । यसैगरी रौतहटका १० स्थान डुबानमा परी भौतिक क्षति भएको छ । उद्धारका लागि १५ जना सुरक्षा फौज परिचालन गरिएको छ । सशस्त्र प्रहरी कार्यालयले दिएको जानकारी अनुसार धादिङमा खोलाले बगाई एक जना बेपत्ता भएका छन् । एक जनाको मृत्यु भएको छ । २ जनाको सकुशल उद्धार गरिएको छ । यसैगरी गोरखामा उद्धारका लागि २५ जना सुरक्षा टोली परिचालन गरिएको छ । 

सिन्धुली जिल्लामा आएको बाढीले ५ स्थानहरूमा भौतिक क्षति भएको छ । ११ जनाको सुरक्षा फौज परिचालन भई ३३ जनाको सकुशल उद्धार गरेको छ । यसैगरी काभ्रे जिल्लामा आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ । ७ स्थानमा भौतिक क्षति भएको छ । उद्धारका लागि १५ जना सुरक्षाकर्मी परिचालित भएका छन् ।

यसैगरी काठमाडौँ जिल्लाका विभिन्न स्थानहरूमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । १ हजार ४ चार ७४ जना सुरक्षाकर्मी उद्धारमा परिचालित छन् ।  २ सय २४ जनाको सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ । यसैगरी ललितपुर जिल्लाका विभिन्न ठाउँहरूमा आएको पहिरोले १ जनाको मृत्यु भएको छ ।

ललितपुरमा ६ जना बेपत्ता भएका छन् । २ स्थानहरूमा भौतिक क्षति भएको प्रहरीको भनाइ छ । उपत्यकाको ३ वटै जिल्लामा मोटरबोटसहितको सशस्त्र प्रहरी बल नेपालको टोली उद्धारमा परिचालित रहेको सशस्त्र प्रहरी सहप्रवक्ता शैलेन्द्र थापाले बताउनुभयो ।