• २० असोज २०८१, आइतबार

बढी खर्च गर्नेमा कांग्रेसका चन्द्र भण्डारी, शून्य खर्च गर्नेमा रसाइली

blog

जिल्ला निर्वाचन कार्यालय गुल्मीको कार्यालय । तस्बिर - तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, पुस १३ गते । गुल्मीमा प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेका सबै उम्मेदवारहरुले निर्वाचन खर्चको विवरण बुझाएका छन् ।

स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएका उम्मेदवारहरुलाई आयोगले जरिवाना तोकेसँगै प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले तोकिएकै समयमा खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो ।

दुई वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधि सभामा २३ र प्रदेश सभा निर्वाचनका लागि ३९ जना उम्मेदवार बनेका थिए । सबै उम्मेदवारहरुले समय सीमा भित्रै मापदण्डअनुसारको खर्च विवरण बुझाएको पाण्डेले बताउनुभयो ।

प्रतिनिधि सभातर्फ गुल्मी क्षेत्र नं १ मा ३१ लाख र गुल्मी २ मा २७ लाख खर्च गर्न सक्ने आयोगले सीमा तोकिदिएको थियो । प्रदेश सभाका लागि १७ लाख रुपियाँ खर्च गर्न सक्ने सीमा निर्धारण गरेको थियो ।

सबैभन्दा बढी खर्च गर्नेमा गुल्मी क्षेत्र नं १ मा नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले २९ लाख एक हजार पाँच सय रुपियाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाउनुभएको छ ।

यस्तै, सोही क्षेत्रमा प्रतिनिधि सभाका उम्मेदवार नेपाल मजदुर किसान पार्टीका पदम रसाइलीले एक रुपियाँ पनि खर्च नभएको विवरण बुझाउनुभएको छ । 

उहाँले केन्द्रीय पार्टी कार्यालयबाट घोषणापत्र र आवश्यक सामग्री प्राप्त भएकाले एक रुपियाँ पनि खर्च नभएको उल्लेख गर्नुभएको छ ।

जिल्लामा ५० जना उम्मेदवारहरुको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । निर्वाचन क्षेत्रको कुल सदरमतको १० प्रतिशत मत कटाउन नसक्ने उम्मेदवारको जमानत जफत भएको र १० प्रतिशत मत कटाएका बाँकी उम्मेदवारहरुले धरौटी रकम फिर्ता लैजान सक्ने प्रावधान रहेको कार्यालयले जनाएको छ ।

यता, गत स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका एक हजार २४३ उम्मेदवार मध्ये ५१५ जनाले मात्र खर्च विवरण बुझाएको र अन्यले खर्च विवरण नबुझाएको कार्यालयका कम्प्युटर अपरेटर अर्जुन पन्थीले जानकारी दिनुभयो ।

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई आयोगले जरिवाना तोकेको छ । तोकिएको जरिवाना पनि हालसम्म कुनै उम्मेदवारहरूले नबुझाएको कार्यालयले जनाएको छ ।