• २० असोज २०८१, आइतबार

सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र ठीक ठाउँमा आउँछ : अर्थमन्त्री पौडेल

blog

अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघसँगको छलफलमा बोल्नुहुँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेल । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौ., पुस १३ गते । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठीक ठाउँमा आउने बताउनुभएको छ ।

बुधबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार सङ्घसँगको छलफलमा बोल्नुहुँदै मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताउनुभएको हो ।

उहाँले अहिले सबैको साझा सरोकारको विषय आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान खोज्ने र सबल अर्थतन्त्रमा निर्माण गर्न सकिने जनाकारी लिनुभयो ।


उहाँले भन्नुभयो, ‘‘मुलुकको अर्थतन्त्र काबुभन्दा बाहिर गएको भन्ने होइन । तर, अर्थतन्त्रमा समस्याहरू छन् । यदि बेवास्ता गर्‍यो भने अर्थतन्त्र अप्ठ्यारोमा पर्नसक्छ । सावधानीपूर्वक हिँड्यौँ भने र ठीक ढङ्गले कदम चाल्दै गयौँ भने अर्थतन्त्र ठीक ढङ्गमा आउनसक्ने देखिएको छ ।’’

मन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी सबल अर्थतन्त्र बनाउन सबैले एउटा एउटा इट्टा थप्दै जानुपर्ने आवश्यकता रहेको बताउनुभयो । मुलुकको अर्थतन्त्र काबुभन्दा बाहिर नभए पनि समस्या भने रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘अर्थ मन्त्रालय भित्र र बाहिर बसेर हेर्दा फरक पर्ने रहेछ । त्यो मैले महसुस गरेको छु । अहिले सबैको साझा सरोकार अर्थतन्त्रको आर्थिक क्षेत्रमा देखिएका समस्याहरूको समाधान खोज्ने र सबल अर्थतन्त्र निर्माणका लागि एउटा एउटा इट्टा थप्दै जाने त्यो क्षणमा हामी छौँ । यही दिशामा पत्रकारहरूको पनि रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।’’

मन्त्री पौडेलले अर्थतन्त्रलाई सबल बनाउनका लागि आर्थिक पत्रकारहरूले रचनात्मक भूमिका खेल्नुपर्ने बताउनु भयो ।