• १९ असोज २०८१, शनिबार

सामान आयातमा कडाइ गरेपछि राजश्व घट्यो

blog

लक्ष्मण पौडेल

भैरहवा, पुस १३ गते । बिलासिताका वस्तु भन्दै सरकारले लामो समयसम्म केही सामानको आयातमा प्रतिबन्ध र केही सामानको आयातमा कडाइ गरेपछि यसको प्रत्यक्ष असर भन्सार राजश्वमा परेको छ । जसका कारण भैरहवा भन्सारको राजश्व सङ्कलन लक्ष्यको तुलनामा झण्डै आधा मात्र छ ।

राजश्व सङ्कलनमा जताततै कमी आएपछि प्रतिबन्ध लगाएका सामानको आयातमा सरकारले फुकुवा गरेको छ । तर, ४७ वटा सामानको आयातमा गरेको कडाइ भने यथावत्  राखेको छ । ती सामानको आयातमा अनिवार्य एलसी खोल्नु पर्ने र एलसी खोल्दा बैङ्कमा मार्जिन (जति मूल्यका सामान आयात गर्ने हो उति नै रुपियाँ बैङ्कमा अग्रिम जम्मा गर्नुपर्ने) प्रावधानले आयात कम भई राजश्व प्रभावित भएको हो । 

सामानको आयात गर्दा बैङ्कमा अनिवार्य एलसी खोलेर मार्जिन राख्नु पर्ने नियमले लागत बढ्न गई चोरी तस्करीको माध्यमबाट ती सामानको आयातलाई प्रोत्साहित हुन पुगेको व्यवसायी बताउँछन् ।

“सरकारले बिलासिताको सामान भनेर केही सामानको आयातमा प्रतिबन्ध लगाएको छ भने एक वर्ष अघिदेखि कपडा लगायत ४७ वटा आइटमको आयातमा कडाइ गरेको छ” भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले भन्नुभयो, “ती वस्तुको आयातमा प्रतिबन्ध र कडाइ गरिएपछि आयात प्रक्रियामा कमी आएकाले भन्सार राजश्व घटेको हो ।”

उहाँका अनुसार गत साउनदेखि कात्तिक महिनासम्म भैरहवा भन्सार कार्यालयले ४७ अर्ब ७७ करोड रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । तर २५ अर्ब १३ करोड रुपियाँ मात्रै सङ्कलन भयो । ५३ प्रतिशतको हाराहारीमा मात्रै । लक्ष्यको तुलनामा भन्सार राजश्व असुली कम हुनुका कारणमा भैरहवा भन्सार कार्यालयका प्रमुख पौडेल भन्सार हुँदै आयात नै घटेको बताउनुभयो । 

सरकारले विदेशी मुद्रा सञ्चितीमा कमी आएको जनाउँदै र बिलासिताका वस्तु भन्दै २०७८ वैशाख १३ देखि मोटरसाइकल, जीप कार भ्यान, तीन सय डलर मूल्य माथिको मोबाइल, ५० इन्च माथिको टिभी र तयारी मदिराको आयातमा प्रतिबन्ध लगाएको छ । 

यसैगरी २०७८ मङ्सिर २६ गतेदेखि लागु हुनेगरी सरकारले लत्ताकपडा लगायत ४७ वटा वस्तुको आयातमा बैङ्कमा मार्जिन (जति मूल्यका सामान आयात गर्ने हो, उति नै रुपियाँ बैङ्कमा अग्रिम जम्मा गर्नुपर्ने) प्रावधानसहितको अनिवार्य एलसी खोल्नु पर्ने नियम लगाई आयातमा कडाइ गरेको छ । यो नियमका कारण पनि भैरहवा भन्सार कार्यालय हुँदै हुनेगरेको औद्योगिक कच्चा पदार्थ तथा व्यापारिक प्रयोजनका सामानको आयातमा कमी आएको छ ।

आयातमा प्रतिबन्ध लगाइएका र आयातमा कडाइ गरिएका सामानमध्ये अधिकांश अवैध प्रक्रियाबाट चोरी पैठारी हुँदै खुल्ला सिमानाबाट नेपाल भित्रिने गरेको छ । चोरी निकासी पैठारी नियन्त्रण गर्ने निकायहरू निष्प्रभावी बनेका छन् । बरु खुलेआम तस्करीको माध्यमबाट ती सामान नेपाल भित्रिनमा तस्करसँगको साँठगाँठ हुनेगरेको आरोप सुरक्षालगायत जिम्मेवार निकायमाथि लाग्नेगरेको छ । सरकारकै नीतिगत कारण पनि ती सामानको अवैध कारोबार तथा अवैध आयात बढ्न थालेको छ ।

एलसी नखोली आयात गर्न नपाइने ४७ वटा वस्तुमध्ये मसलाको आइटम, चकलेट, मदिराको कच्चा पदार्थ, लत्ताकपडा, जुत्ता चप्पल, अटोमोवाइल्स, विभिन्न खाद्यान्न, तयारी पोसाक, माछा, दूधजन्य उत्पादन, कृत्रिम र बिरुवाका फूलहरू, केरा, सुपारी, साबुन, सर्फ, रङ्ग (पेन्ट), हेल्मेट, छाता, नक्कली गहना, फर्निचर लगायत छन् ।