• १९ असोज २०८१, शनिबार

गौर आँखा अस्पतालमा भारतीय बिरामीको भीड

blog

गौर आँखा अस्पतालमा आँखाको उपचार गराउन आएका भारतीय नागरिक । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, पुस १२ गते ।
रौतहटको सीमावर्ती आँखा अस्पतालमा आँखाका भारतीय बिरामीको दिनहुँ भीड लाग्ने गरेको छ । सस्तो र गुणस्तरीय सेवा पाइने भन्दै उनीहरुको भीड लाग्ने गरेको हो ।

जिल्लाको सीमावर्ती क्षेत्र गौर नगरपालिकामा करिब आधा दर्जन आँखाका अस्पताल खुलेका छन् । जसमध्ये पुरेनवास्थित जिल्लाको सबैभन्दा पुरानो गौर आँखा अस्पतालमा भने आँखाका भारतीय बिरामीको चाप अधिक छ । करिब ३०० किलोमिटरको लामो यात्रा गर्दै भारतको उत्तर प्रदेश गोरखपुरबाट गौर आँखा अस्पताल आउनुभएका ६५ वर्षीय शेख अहम्मद भन्नुहुन्छ, “गौर आँखा अस्पतालमा आँखाको उपचार सस्तो र स्तरीय हुन्छ भन्ने सुनेर आएको हुँ । मोतिबिन्दु भएको आँखाको उपचारका लागि लामो यात्रा गर्दै नेपालको गौर आएको छु ।”

जिल्लाको विभिन्न स्थानमा आँखाको शिविर सञ्चालन गरी आँखाका रोगीको उपचार गर्दै आएको गौर आँखा अस्पतालमा यतिबेला नेपाली आँखाका बिरामीभन्दा भारतीय आँखा रोगीका भीड लाग्ने गरेको अस्पतालका कर्मचारी पवन न्यौपानेले बताउनुभयो ।

आँखा अस्पतालको तत्थ्याङ्कबमोजिम रौतहटका आँखा अस्पतालमा विशेषगरी बिहार र उत्तर प्रदेशका नागरिक आउने गरेका छन् । आँखाको शल्यक्रिया गर्दा लाग्ने खर्च भारतीय अस्पतालमा भन्दा नेपालमा तीन गुण कम हुने भएकाले पनि निम्न तथा मध्यम वर्गका भारतीय नागरिक यहाँ आउने गरेको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार ‘फेको’ पद्धतिबाट आँखामा ‘लेन्स’ राखिन्छ । गुणस्तर हेरी कम्तिमा तीन हजार ८४० देखि १६ हजार २४० रुपियाँसम्मका लेन्स आँखामा राखिन्छ ।

बिहार राज्यको राजधानी पटनाबाट दृष्टिदोषको उपचार गराउन आउनुभएका आँखाको अर्को बिरामी शिवशङ्कर पाण्डेले भारतीय आँखा अस्पतालमा आँखाको शल्यक्रिया गराउँदा ३० हजारदेखि ३५ हजारसम्म भारतीय मुद्रा लाग्ने जानकारी दिनुहुँदै नेपालमा एक हजार भारतीय रुपियाँमा नै सोको  स्तरीय उपचार हुने बताउनुभयो ।

आँखा अस्पताल गौरले जिल्लाको चन्द्रनिगाहपुर, बंकुल र गरुडा बजारमा समेत सेवा विस्तार गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रज्वल बस्नेतले जाडोयाम सुरु भएपछि आँखाका भारतीय बिरामीको चाप अत्यधिक हुने बताउनुभयो । जाडोयाममा शल्यक्रिया गर्दा नपाक्ने, आँखामा पसिना नपस्ने जस्ता परम्परागत मान्यताले पनि अहिले भारतीय बिरामीको भीड लाग्ने गरेको उहाँ बताउनुहुन्छ । अस्पतालमा विशेषगरी आँखामा मोतिबिन्दुको शल्यक्रिया गरी ‘लेन्स’ राख्ने, दृष्टिदोष समस्याको उपचार गरिन्छ, डा. बस्नेत भन्नुहुन्छ, “अहिले अस्पतालमा दैनिक औसत तीन सयको सङ्ख्यामा आँखाका भारतीय बिरामीले उपचार गराउँछन् । यहाँको उपचारबाट बिरामी सन्तुष्ट भएका प्रतिक्रिया पाएका छौं ।”