• १६ चैत २०८२, सोमबार

वीर अस्पतालमा निःशुल्क स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको स्कीनिङ्ग शुरु

blog

स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्कीनिङ्ग कार्यक्रमको शुभारम्भको अवसरमा आयोजित कार्यक्रम ।

काठमाडौँ, चैत १६ गते ।काठमाडौँ महानगरपालिकाको सहयोगमा वीर अस्पतालमा निःशुल्क स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्कीनिङ्ग कार्यक्रम शुरु भएको छ ।

सोमबार एक कार्यक्रमबीच काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सर स्क्रिनिङ कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

कार्यवाहक प्रमुख डङ्गोलले विशेष गरी महिलामा सर्भाइकल र स्तन क्यान्सरको जोखिम उच्च देखिएकाले यस प्रकारको स्क्रिनिङ कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो ।

क्यान्सरलाई समयमै पहिचान गर्नसके उपचार सम्भव हुने उहाँको भनाइ छ । उहाँले पहिचानमा ढिलाइ हुँदा रोग तेस्रो वा चौथो चरणमा पुग्ने जोखिम रहने बताउनुभयो ।

धेरै महिलामा सचेतनाको अभाव र केहीले भने डर र लाजको कारणले परीक्षण नगराउने प्रवृत्ति रहेको उहाँको भनाइ छ । महिलाहरूले परिवारको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर आफ्नो स्वास्थ्यलाई पछाडि पार्ने गरेको उल्लेख गर्नुहुँदै उहाँले त्यसलाई तोड्न आग्रह गर्नुभयो । महिला स्वस्थ भएमा मात्रै पूरा परिवार स्वस्थ हुने उहाँको भनाइ छ ।

उहाँले समयमै स्वास्थ्य परीक्षण गराउन सबैलाई आग्रह गर्नुभयो । उहाँकाअनुसार महानगरपालिकाभित्र रहेका प्रत्येक वडाको स्वास्थ्य प्रवर्द्घन केन्द्रमार्फत नाम दर्ता गर्न सकिनेछ ।

सेवाग्राहीलाई ‘क्यू सिस्टम’अनुसार समय निर्धारण गरिने भएकाले तोकिएको समयमा पुग्दा लामो समय कुर्नु नपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

उहाँले कार्यक्रमको सुरुवातमै उल्लेखनीय सहभागिता देखिएकोले आगामी दिनहरूमा सेवाग्राहीको सङ्ख्या क्रमशः बढ्दै जाने बताउनु भयो । पहिलो दिनमा १३६ जनाको स्क्रिनिङ गरिएको छ ।

उहाँले भन्नुभयो, ‘विशेष गरी धेरै महिला दिदीबहिनीमा सर्भाइकल र स्तन क्यान्सर धेरै देखिने गरेको छ । हरेक दिन संसारभर चार जना सर्भाइकल क्यान्सरको कारणले मृत्यु हुने गरेको छ । क्यान्सर मृत्यु भइहाल्ने रोग होइन, यसको उपचार गर्न सकिन्छ भन्ने बुझाउन पनि जरुरी छ । यदि समयमा नै यसको पत्ता लगाउन सकियो भने उपचार हुन्छ, त्यसको लागी समयमा नै परीक्षण गर्नुपर्छ । कतिपय समयमा असिम्टोम्याटिक सिम्टोम नै देखिरहेको हुँदैन र जुनबेला सिम्टोम देख्छ, त्यो बेला थर्ड, फोर्थ चरणमा पुगिसकेको पनि हामीले देखेका छौँ, त्यसैले ज्यान गइरहेको छ । कति सचेत नभएको कारणले नै परीक्षण गराउनुहुन्न । कति जनालाई डर पनि लाग्छ, कति लाजले पनि परीक्षण गरिराख्नुभएको छैन । यहीबाट म सबैलाई अनुरोध गर्छु अब यो लाज, डर र अचेत सबै कुरालाई तोड्ने समय हो ।महिला दिदिबहिनीले परिवारका अरु सदस्यलाई प्राथमिकता दिनुहुन्छ, आफूलाई अन्तिममा राख्नुहुन्छ । तपाई स्वस्थ हुनुभयो भने सिंगो परिवार स्वस्थ हुन्छ । आफ्नो स्वास्थ्य परीक्षण गर्न आजै अगाडी बढ्नुहोला ।’

उहाँले गतवर्ष वीर अस्पतालसँग गरिएको सहकार्य सफल भएको उल्लेख गर्दै यस वर्ष कार्यक्रम अझ व्यवस्थित र व्यापक बनाइने बताउनुभयो । उहाँकाअनुसार यो कार्यक्रम आगामी वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।