• १९ असोज २०८१, शनिबार

क्लब च्याम्पियनसिप भलिबल पुस अन्तिममा

blog

क्लब च्याम्पियनसिप भलिबल बारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, पुस १२ गते । सातौं संस्करणको एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब च्याम्पियनसिप भलिबल पुस अन्तिम साता हुने भएको छ । नेपाल भलिबल सङ्घको आयोजनामा पुस २४ देखि माघ १ गतेसम्म च्याम्पियनसिप हुन लागेको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्थित कभर्ड हलमा हुने च्याम्पियनसिपमा पुरुषतर्फ १५ र महिलामा आठ टोलीको सहभागिता रहनेछ । जसमा पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, नयाँबजार सामाजिक युवा क्लब, दाँवाली मिलन क्लब, गल्कोट स्पोर्टस क्लब बाग्लुङ, मणिमुकुन्द भलिबल क्लब बुटवल, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, बागमती प्रदेश, बूढानीलकण्ठ भलिबल क्लब, गण्डकी प्रदेश, मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र शैलुङ बागढुङ्गा युवा क्लब र रामेछाप भलिबल टिम छन् । 

यसैगरी महिलातर्फ आर्मी, एपीएफ, नेपाल पुलिस, न्यू डायमण्ड युथ स्पोर्टस क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, गण्डकी प्रदेश, ढोरपाटन स्पोर्टस क्लब र एभरेष्ट भलिबल क्लब बुटवलको सहभागिता रहनेछ । टिम दर्ता समय पुस १९ गतेसम्म रहेकोले सहभागिता सङ्ख्या बढ्न सक्ने सङ्घका महासचिव रोशन श्रेष्ठले बताउनुभयो । 

च्याम्पियनसिपको विजेता टोलीले चार लाख, उपविजेताले दुई लाख र तेस्रो हुनेले एक लाख रुपियाँ पुरस्कार पाउनेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही १० हजार रुपियाँ प्रदान गरिने बताइएको छ ।

यस च्याम्पियनसिपमा पुरुषतर्फका शीर्ष आठ र महिलातर्फ ६ टोली एनभीए क्लब लिग भलिबल प्रतियोगितामा स्थान बनाउनेछन् । च्याम्पियनसिप सम्पन्न गर्नका लागि ४६ लाख रुपियाँ खर्च हुने सङ्घले जनाएको छ । जसका लागि नेपाल सुपर लिग (एनएसएल) आयोजकले २५ देखि ३० लाख रुपियाँ सहयोग गर्ने पनि सङ्घले जनाएको छ ।