• १९ असोज २०८१, शनिबार

जाँदाजाँदै सञ्चारमन्त्रीले भन्नुभयो : नेपाललाई आइटी हब बनाउनुपर्छ

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । फाइल तस्बिर

काठमाडौं, पुस ११ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाललाई आइटी हब बनाउनुपर्ने बताउनुभएको छ । सोमबार मन्त्रालयबाट बिदाइ हुने क्रममा आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री कार्कीले  यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल आइटी र शिक्षाको केन्द्र बन्न सबै किसिमबाट उपयुक्त भएको भन्दै देशलाई अबको पाँच वर्षमा आइटी हबको रूपमा विकास गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपाली युवायुवतीहरू बिदेसिन बाध्य भएको भन्दै देशका युवायुवतीहरूलाई घर, परिवार र आफ्नै समाजमा बसेर विदेशी मुद्रा आर्जन गराउने आइटी हब नेपाललाई बनाउनुपर्ने मन्त्री कार्कीको भनाइ छ ।

उहाँले नेपाललाई आइटीको हब बनाउने कुरामा आफू सदैव सकारात्मक र सहयोगी हुने प्रतिबद्धतासमेत जनाउनुभयो । उहाँले आगामी पाँच वर्षमा पूर्वाधार, जलश्रोतको विकास गरेर मुलुकले गति लिएको आभास जनतालाई दिनुपर्ने बताउनुभयो ।

‘‘अहिले विदेशमा हाम्रा धेरै युवायुवतीहरू जानुपरेको छ । उहाँहरूले पठाएको रेमिट्यान्सबाट हाम्रो मुलुकको अर्थतन्त्र चल्नमा धेरै ठूलो मद्दत गरेको छ । हामीले हाम्रै देशका युवायुवतीहरूलाई हाम्रै घर परिवारसँग बसेर समाजमा बसेर एउटा ५० हजारको ल्यापटप किनेर विदेशी मुद्रा आर्जन गराउने आइटी हब नेपाललाई कसरी बनाउन सकिन्छ, त्यस दिशातर्फ हाम्रो ध्यान गम्भीर रूपले जान जरुरी छ ।,’’ मन्त्री कार्कीले भन्नुभयो, ‘‘त्यस दिशातर्फ मुलुकलाई उन्मुख गर्न मेरो योगदान रहन्छ । हाम्रो देश आइटी हब हुनका निमित्त सबै हिसाबले (क्लाइमेट, शिक्षा) लगायत सबै हिसाबले आइटी हब बनाउन जरुरी छ । पूर्वाधार, जलश्रोतको विकास गरेर मुलुकले गति लिएको आभास जनतालाई दिनुपर्छ ।’’

मन्त्री कार्कीले अबका दिनमा कांग्रेसले बदलिँदो परिस्थितिमा देशलाई केन्द्रमा राखेर र नेपाली जनतालाई केन्द्रमा राखेर अघि बढ्ने बताउनुभयो ।