• १९ असोज २०८१, शनिबार

बुटका बाबा माघी महोत्सवको तयारी

blog

महोत्सवबारेमा जानकारी गराउँदै आयोजक समूह । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली) पुष ११ गते । कैलालीका थारु समुदायले वर्षौदेखि मनाउँदै आएको बुटका बाबा माघी महोत्सव यस वर्ष पनि मनाउने भएका छन् । तर यस पटक भारतीय कलाकारलाई नबोलाउने निर्णय गरेका छन् ।  कैलालीको पुरानो धार्मिक क्षेत्र घोडाघोडी नगरपालिका –७ कीर्तिपुरमा रहेको बुट्का बाबा मन्दिरमा माघ १ गतेदेखि हरेक वर्ष पाँच दिनसम्म मेला लाग्ने गर्छ । 

मेला तथा महोत्सव आयोजक समितिले सोमबार पत्रकार सम्मेलनगरी यस पटक स्थानीय कला संस्कृतिकलाई महत्व दिने जनाउँदै भारतबाट ठूलो रकम तिरी नौटङ्की नाच ल्याइने गरिएकोमा यस वर्षबाट बन्द गरिने जानकारी दिएको छ । 

बुटका बाबा मन्दिर व्यवस्थापन समितिले हरेक वर्ष आयोजना गर्दैआएको मेला कार्यक्रमलाई यस बर्ष घोडाघोडी तथा संस्कृतिक संरक्षण समाज, घोडाघोडी नगर भल्मन्सा समिति र नगर युवा सञ्जालले सहकार्य गर्दै भव्य महोत्सवको आयोजन गर्नेभएको छ । 

घोडाघोडी नगर भलमन्सा समितिका अध्यक्ष बुधराम चौधरीले राति नौटङ्की नाच देखाएर रातभर लाग्ने मेला यो वर्षदेखि दिनभर मात्र लाग्ने बताउनुभयो । राति लाग्ने मेलाले झैझगडा, कुटपिटजस्ता दुर्घटना निम्त्याई सुरक्षा चुनौती थपिने भएकाले मेला दिउँसो मात्र सञ्चालन हुने आयोजकले जनाएको छ । 

पुस ३० गतेदेखि माघ ५ गतेसम्म चल्ने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिका साथै थारु संस्कृति झल्कने पराम्परागत नृत्य, भेषभूषा तथा खानाको प्रदर्शन गरिने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

लामो समयदेखि मेला सञ्चालन हुँदै आए पनि मेलाबाट आएको आम्दानी भारतीय कलाकारलाई दिँदा आम्दानीको सदुपयोग नभएको र आफ्नो कला संस्कृतिको जगेर्ना हुन नसकेको अध्यक्ष चौधरीको भनाइ छ । 

माघी मेलामा थारु संस्कृति, भेषभूषा झल्काउने सांस्कृतिक कार्यक्रम गर्नुका साथै स्थानीय परिकार र उपभोग्य वस्तुका उत्पादनका एक सय बढी स्टल रहने आयोजकले जनाएको छ ।  २०२१ मा भूमि ऐन लागू भएपछि सो क्षेत्रमा बस्ती बसेसँगै बुट्का बाबाको पूजाआजा र मेला लगाउँदै आएको स्थानीय जान्ने बुझ्नेकोे भनाइ छ ।  

बुटका बाबा मेला भर्नका लागि कैलाली जिल्ला लगायत बर्दिया, दाङ, कञ्चनपुरबाट समेत हजारौँ मानिस आउनुका साथै भारतको तिकुनिया, पलियालगायतका ठाउँबाट भारतीय नागरिक आउनेगरेका छन् ।  

वर्षौ पहिलेदेखि बुट्का बाबा मन्दिरमा लाग्ने मेलाले थारु जातिको छुट्टै धार्मिक र सांस्कृतिक पहिचान बोकेको बुटका बाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सीताराम चौधरीले बताउनुभयो । बुटका बाबा मन्दिरमा मेला लाग्न थालेको वर्षौं भए पनि आर्थिक रुपमा खासै लाभ लिन नसकेको बताउँदै अध्यक्ष चौधरीले अन्य संस्थासँगको सहकार्यले स्थानीय कला संस्कृतिको संरक्षणसँगै आर्थिक लाभ लिन सकिने विश्वास व्यक्त गर्नुभयो । 

बुटका बाबा मन्दिरको पौराणिक किंवदन्तीअनुसार भगवान शिवको शक्तिपिठका रुपमा रहेको बुट्का बाबा मन्दिरमा माघ महिनामा दर्शन गर्नाले आफूले चिताएको पूरा हुने मन्दिरका पुजारी रोमन दासको भनाइ छ । 

थारु भाषामा रुखको जरालाई ‘बुट्का’ भनिने र भगवान शिवले ध्यान गरेको हुनाले सो धार्मिक स्थलको नाम बुट्का बाबा रहन गएको स्थानीयको भनाइ छ । वर्षमा एक पटक लाग्ने मेलाले स्थानीयवासीको आयआर्जन समेत हुने गरेको छ । गाउँको बीचमा रहेको उक्त तीर्थस्थलमा टाढाबाट समेत व्यापारका लागि व्यापारीहरु आउने गर्छन्  ।