वि.सं. २०२७ सालमा नेपाली साहित्य संस्थाले बृहत् नेपाली साहित्य सम्मेलनको आयोजना गरेको थियो । कार्यक्रम स्थल थियो विराटनगर । त्यो सम्मेलन खास गरेर साहित्य संस्थानका अध्यक्ष कवि केदारमान व्यथितको सत्प्रयासबाट सम्भव भएको थियो । उहाँलाई साथ दिनेहरूमा विजय मल्ल, चित्तरञ्जन नेपाली, खड्गमान मल्ल आदि थिए । सबैको प्रयास र मन्त्री व्यथितको हुटहुटीले कार्यक्रमले अत्यन्त गौरव र लोकप्रियता आर्जन गर्न सफल भएको मलाई लाग्छ । सोही कार्यक्रममा मैले सर्वप्रथम दार्जिलिङ, आसाम र सिक्किमतिरबाट भाग लिन आउनुभएका देवकुमारी थापा, लक्खीदेवी सेवा सुन्दास र लीलाबहादुर क्षेत्रीहरूलाई देखेको ।
अरू पनि कयौँ साहित्यकारहरू आउनुभएको मलाई सम्झना हुन्छ तर दार्जिलिङतिरबाट भाग लिन आउनुभएका इन्द्रबहादुर राई, लक्ष्मण श्रीमल, ईश्वर बल्लभको मात्र मलाई सम्झना हुन्छ । काठमाडौँबाट थुप्रै साहित्यकारहरू एउटा बस नै रिजर्भ गरेर त्यता लागेका थियौँ । त्यसको सबै प्रबन्धकर्ताका रूपमा कवि मदन रेग्मी उत्साहका साथ सामेल भएका थिए ।
उनीसँग होस्टेमा हैँसे गर्नेमध्ये थिए लीलाध्वज थापा, नीरविक्रम प्यासी, रमेश धिताल आदिको मलाई सम्झना हुन्छ । त्यही बसयात्रामा म, कविता राम, तोया गुरुङसँग हाँस्दै रमाइलो गर्दै सरिक हुनुभएको थियो प्रसिद्ध उपन्यासकार दौलतविक्रम विष्ट । हामी सबै उत्साहका साथ रमाइलो गर्दै विराटनगर पुग्यौँ ।
कार्यक्रमको आरम्भमा नै परिचयको कार्यक्रम थियो । सबैले आफैँले उठेर आफ्नो जन्मथलो र योगदानको बारेमा बोल्नुपर्ने ।
अहिलेसम्म त्यस्तो कार्यक्रम साहित्यिक भेला, सङ्गोष्ठी आदिमा त्यस्तै रूप चलिआएकै छ । सर्वप्रथम व्यथितले उठेर मेरो जन्मस्थान पूर्व १ नं चौतारा भनेपछि सबैलाई आफ्नो जम्थलोको नाम लिने जोश उत्पन्न भएको थियो । त्यही परिचय कार्यक्रममा विजय मल्लले आफ्नो जन्मस्थान सिराहा बताएको मलाई सम्झना हुन्छ । जगदीश घिमिरेलाई जनकपुरका लेखक भनेर जानेका हामीले सुन्यौँ । उनी त आफूलाई रामेछाप मन्थलीका मान्दारहेछन् त्यही जन्मेका उनी । त्यही सभामा मैले सर्वप्रथम सुनेँ दौलतविक्रम विष्टले आफ्नो जन्मथलो भोजपुर भनेको । युगकवि सिद्धिचरण श्रेष्ठले ‘मेरो प्यारो ओखलढुङ्गा’ भनेर लेखेपछि शायद सबैलाई यस्तै आफ्नो जन्मथलो बारे पत्तो लगाएर भन्ने जाँगर पलाएको थियो त्यसबेला । काठमाडोँ पाको पोखलढ्याङका सुब्बा ऋद्धिबहादुर मल्लका सुपुत्र विजयबहादुर मल्लले सिराहा भनेपछि झस्केको कवि लेखक समाज दौलतविक्रम विष्टले भोजपुर भनेपछि झन् बढी झस्केको थियो । सबै मुखामुख गरेर नपत्याउँदो पाराले एकअर्कालाई हेर्न थालेका थिए ।
भूपि शेरचनले थाक खोला मुस्ताङ भनेजस्तो । कार्यक्रम सकिएपछि मैले दौलत दाइलाई घेरिहालेँ । भोजपुरको कुन ठाउँमा उहाँको जन्मनुभएको रहेछ भन्ने उत्सुक खुलदुली मलाई हुने नै भयो । आफू भोजपुरमा नै जन्मिहुर्केकाले त्यो कुरा बुझ्ने चाहना स्वाभाविकै थियो । दौलत दाइले केही सम्झिँदै भन्नुभयो ः ‘मेरो बुबा भोजपुर जेलमा हाकिम भएर जानुभएको थियो रे, उहाँले भर्खर विवाह गरेर त्यता जागिर खाएर जानुभएको रहेछ ।
दौलतदाइले बताएका सबै कुरा हाम्रो भोजपुरको पुरानो घरसित ठ्याम्मै मिलेको थियो । हुन पनि हाम्रो बाजे मुखिया कृष्णबहादुर श्रेष्ठ बाहिरबाट आएका हाकिमहरूसित सम्पर्क राख्न सिपालु मानिनुहुन्थ्यो । खास गरेर मेरा कान्छा अजा (हजुुरबा) अम्मरबहादुर श्रेष्ठ आफैँ पनि जागिरदार भएका कारणले बाहिरबाट आएका हाकिम, कारिन्दालाई बस्ने ठाउँ मिलाइदिन आफ्नो कर्तव्य नै ठान्नुहुन्थ्यो ।
मलाई अलि अलि सम्झना भएअनुसार जेलको नजिकै एउटा भव्य राम्रो झिँगटीको तीनतले घर थियो । मेरो बुबाले त्यसको एकतला भाडामा लिनुभएको रहेछ । हो त्यही घरमा म जन्मेको ।’ राति १० बजे जेलका प्रहरीहरूले विगुल बजाएको र खबरदार भनेर कराएको समेत दौलत दाइले बताउनुभएको । नजिकै सानो ढिस्को र त्यसको तल जेल । ढिस्कोमा बसेर मानिसहरू चङ्गा उडाउने गरेका । त्यसको तलतिर दमाईगाउँ ।
दौलतदाइले बताएका सबै कुरा हाम्रो भोजपुरको पुरानो घरसित ठ्याम्मै मिलेको थियो । हुन पनि हाम्रो बाजे मुखिया कृष्णबहादुर श्रेष्ठ बाहिरबाट आएका हाकिमहरूसित सम्पर्क राख्न सिपालु मानिनुहुन्थ्यो । खास गरेर मेरा कान्छा अजा (हजुरबा) अम्मरबहादुर श्रेष्ठ आफैँ पनि जागिरदार भएका कारणले बाहिरबाट आएका हाकिम, कारिन्दालाई बस्ने ठाउँ मिलाइदिन आफ्नो कर्तव्य नै ठान्नुहुन्थ्यो ।
दौलत दाइले बयान गर्नुभएको घर २०१७ सालमा भोजपुर बजारको आगलागीमा परेर ढल्यो । त्यो ठाउँमा अहिले हाम्रै तीनतले च्यादरको घर छ र नामसमेत त्यो घरको शारदा निवास छ । मेरो हजुरआमा (अजी) को नाम हो त्यो ।
यो कुरा थाहा पाएर हामी दाजुभाइ परशु प्रधान र म अत्यन्त सुखद आश्चर्यमा परेका थियौँ । काठमाडौँमा पनि दौलत दाइ र हामी एउटै वडामा घर बनाएर बस्यौँ । यो सब काकताली सम्झेर मलाई बारम्बार आश्चर्य लागिरहन्छ । हामीलाई त उहाँ झापामा जन्मनुभएको जस्तो लागेको सुरुमा ।