काठमाडौँ, पुस १० गते । मुलुकभरका ७५३ स्थानीय तहमध्ये एउटामा अझै वाणिज्य बैङ्कको शाखा पुग्न सकेको छैन । यो गाउँपालिका हो, बझाङ जिल्लाको साइपाल गाउँपालिका ।
सुदूरपश्चिम प्रदेशमा पर्ने साइपाल गाउँपालिकामा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको शाखा छैन । यहाँबाट सबभन्दा नजिकको बैङ्क शाखा भएको ठाउँ बझाङ सदरमुकामको चैनपुर हो, जहाँ पुग्न तीन दिन हिँड्नुपर्छ । यति मात्रै होइन, बैङ्किङ सेवाकै लागि गाउँपालिकाले सम्पर्क कार्यालय बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा खोल्नुपरेको छ ।
देशभरका ७५२ वटा स्थानीय तहमा बैङ्क पुगिसक्दा पनि आफ्नो गाउँपालिकामा नपुगेकामा दुःख व्यक्त गर्दै साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले भन्नुभयो, “हाम्रो गाउँपालिकामा शाखा खोल्न राष्ट्र बैङ्कले एभरेस्ट बैङ्कलाई तोकेको छ । एभरेस्टले न आफू शाखा खोल्छ न अरूलाई खोल्न दिन्छ ।”
यसबारे राष्ट्र बैङ्कमा दुई पटक पत्र पठाइसकेको जानकारी दिँदै उहाँले कुनै सुनुवाइ नभएको बताउनुभयो । “अरू बैङ्कले हामी आउन तयार छौँ भनेका छन् तर एभरेस्ट बैङ्क न आफू आउँछ न अरूलाई नै आउन दिन्छ,” उपाध्यक्ष तामाङले भन्नुभयो ।
नेपाल राष्ट्र बैङ्कले २०७४ देखि नै सबै स्थानीय तहमा वाणिज्य बैङ्कका शाखा विस्तार गर्न निर्देशन दिँदै आएको हो । सोही निर्देशनअनुसार २७ वाणिज्य बैङ्कले शाखा विस्तारका लागि स्थानीय तहको बाँडफाँट गरेर अरू बैङ्कले तोकिएको लक्ष्य पूरा गरे पनि एभरेस्ट बैङ्कले भने पूरा गरेको छैन ।
एभरेस्ट बैङ्कका नायब महाप्रबन्धक केशवराज पौडेलले अत्यन्तै विकट भएका कारण साइपालमा शाखा लैजान नसकिएको बताउनुभयो । बैङ्कको टोली पटकपटक
गएर शाखा स्थापनाका लागि प्रयास गरेको जानकारी दिँदै उहाँले भन्नुभयो,
“बझाङका अरू ठाउँमा शाखा स्थापना गरिसकेका छौँ । यो ठाउँ साह्रै नै विकट रहेछ, हाम्रो प्रयास जारी छ ।”
नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले साइपालबाहेक सबै स्थानीय तहमा बैङ्क पुग्न सफल भएको जानकारी दिँदै साइपालमा पनि चाँडै शाखा खुल्ने बताउनुभयो । बैङ्कले सो क्षेत्रमा प्राविधिक कठिनाइ देखाएको उहाँले बताउनुभयो ।
राज्यको केन्द्रबाट निकै टाढा साइपाल
साइपाल क्षेत्र भौगोलिक हिसाबले निकै टाढा छ । जिल्ला सदरमुकाम चैनपुरबाट ५० किमि टाढा छ । यो गाउँपालिका चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटसँग जोडिएको छ ।
‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैङ्क खाता’
२०७६ वैशाख १ गतेकै दिन सरकारले थालेको ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैङ्क खाता’ अभियानको शुभारम्भ गरिएको थियो । त्यो समयमा ४१ वटा स्थानीय तहमा बैङ्क पुगेको थिएन । तीन वर्षअघि कठिन देखिएको भए पनि अहिले यो सफल भएको नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताउनुभयो ।
भौगोलिक विकटताले समस्या
सरकारले आव २०७४/७५ मै सबै स्थानीय तहमा बैङ्कका शाखा खोल्ने कार्यक्रम ल्याएको थियो । भौगोलिक विकटता र बैङ्क सञ्चालनका लागि चाहिने न्यूनतम पूर्वाधारसमेत नभएका कारण केही स्थानीय तहमा शाखा खोल्न ढिलाइ भएको हो । चालू आर्थिक वर्षमै धादिङको रुवीभ्याली गाउँपालिका र जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बैङ्क शाखा खुलेका हुन् ।
राष्ट्र बैङ्कबाट इजाजतप्राप्त बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या २०७९ कात्तिक मसान्तसम्ममा १२५ रहेका छन् । यसमध्ये २६ वाणिज्य बैङ्क, १७ विकास बैङ्क, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैङ्क सञ्चालनमा छन् । बैङ्क
तथा वित्तीय संस्थाको शाखा सङ्ख्या २०७९ असार मसान्तमा ११ हजार ५२८ रहेकामा २०७९ कात्तिक मसान्तमा ११ हजार ६३२ पुगेको छ । यसमध्ये वाणिज्य बैङ्क मात्रैको शाखा पाँच हजार ९० रहेको छ ।
वित्तीय साक्षरता ५७.९ प्रतिशत
नेपालीको समग्र वित्तीय साक्षरता ५७.९ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको वित्तीय साक्षरता आधार सर्वेक्षणमा वित्तीय साक्षरताको तीन आयामका रूपमा रहेको वित्तीय ज्ञान ४७.३ प्रतिशत, वित्तीय व्यवहार ६३.५ प्रतिशत र वित्तीय मनोवृत्ति ६२.९ प्रतिशत रहेको पाइएको हो ।
वित्तीय साक्षरतामा सबैभन्दा बढी अङ्क बागमती प्रदेशको ६४.५ प्रतिशत पाइएको छ भने मधेश प्रदेशले सबैभन्दा कम ५२ प्रतिशत रहेको छ । वित्तीय साक्षरता अङ्कमा भिन्नता हुनुको प्रमुख कारक तत्व प्रदेशबीचमा वित्तीय ज्ञानमा रहेको भिन्नता देखिन्छ । वित्तीय व्यवहारको र वित्तीय मनोवृत्तिको अङ्क भने सबै प्रदेशमा लगभग समान रहेको राष्ट्र बैङ्कले जनाएको छ ।
सर्वेक्षणअनुसार पुरुषको वित्तीय साक्षरता ६१.८ प्रतिशत पाइएको छ जुन महिलाको तुलनामा ७.५ प्रतिशत बिन्दुले बढी हो । युवा पुस्ता वित्तीय साक्षरता र यसका आयाम सबैमा अगाडि रहेका छन् । १८–३० उमेर समूहमा वित्तीय साक्षरता ६३.२ प्रतिशत रहेको छ जब कि ६० वर्षमाथिको उमेर समूहको २७.९ प्रतिशत मात्रै छ ।
वित्तीय समावेशिताको स्थिति आकलन गर्न वित्तीय उपकरणको प्रयोगलाई हेरिएको सर्वेक्षणमा वयस्क जनसङ्ख्याको वित्तीय प्रयोगका सूचकहरूमा ७३.७८ प्रतिशतले भुक्तानी उपकरण, ८६.६४ प्रतिशतले बचत, लगानी वा अवकाश उपकरण, ३०.०२ प्रतिशतले बीमा सेवा र ४६.३४ प्रतिशत ऋण उपकरण प्रयोग गरेको पाइएको छ ।
बचत उपकरणमध्ये ७१.०६ प्रतिशत वयस्क जनसङ्ख्याले बचत खाताको प्रयोग गरेको पाइएको छ भने लगानी कोष सबैभन्दा कम प्रतिशत जनसङ्ख्याले प्रयोग गरेका छन् । लगभग दुई तिहाइ वयस्क जनसङ्ख्या कम्तीमा पाँच किसिमका वित्तीय उपकरणबारे सचेत रहेको सर्वेक्षणमा उल्लेख छ । अझै पनि ७१.८३ प्रतिशत वयस्क जनसङ्ख्या आफ्नो आर्थिक आवश्यकता पूरा गर्न परिवार तथा साथीभाइमै निर्भर रहेको पाइएको छ । वित्तीय उपकरण प्रयोगमा पनि बागमती प्रदेश अगाडि छ भने मधेश प्रदेश पछाडि छ ।
न एभरेस्ट बैङ्क आयो न अरूलाई आउन दियो
डोल्मा तामाङ
उपाध्यक्ष, साइपाल गाउँपालिकाका
हाम्रो गाउँपालिकामा एभरेस्ट बैङ्कको शाखा आउनुपर्ने राष्ट्र बैङ्कको निर्देशन छ । लामो समयसम्म आनाकानी गरेपछि हामीले बैङ्कका म्यानेजरलाई हेलिकोप्टर चढाएर यो ठाउँ देखाउन ल्यायौँ । उहाँले ठाउँ हेर्नुभयो, फोटो खिच्नुभयो । सुरुमा फोन र इन्टरनेटको सुविधा नभएको समस्या देखाउनुभयो ।
हामीले फोन, मोबाइल र इन्टरनेटको व्यवस्था मिलायौँ । त्यसपछि पक्की भवनमा मात्रै बैङ्क राख्ने भन्न थाल्नुभयो । डोल्पा र हुम्लाका धेरै ठाउँमा कच्ची घरमै बैङ्क चलिरहेको देखेका छौँ तर हाम्रो क्षेत्रमा मिलेन ।
बिजुली छ, सौर्य ऊर्जाको व्यवस्था पनि छ । बैङ्कको शाखा खोल्न आवश्यक सबै सुविधा बनाइदिएका छौँ, प्रहरी चौकी छ । अरू समस्या आउन दिँदैनौँ भनेर कति सम्झायौँ तर हाम्रो अनुरोधलाई बैङ्कले स्वीकार गरेन । यही ठाउँमा आउन अरू बैङ्क तयार छन् तर न एभरेस्ट बैङ्क आयो न अरूलाई आउन दियो ।