• ४ जेठ २०८१, शुक्रबार

रातो ढुङ्गा सवस्टेशन निर्माणमा ढिलाइ

blog

म्याग्दीको मालिका गाउँपालिका–६, रातो ढुङ्गामा निर्माणाधीन सवस्टेशन । तस्बिर: साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ), पुस ९ गते । म्याग्दीको मालिका गाउँपालिका–६, रातो ढुङ्गामा सवस्टेशन निर्माणमा ढिलाइ भएको छ । चार वर्ष अघि नै सम्पन्न हुनु पर्ने ३३-११ केभी क्षमताको उक्त सवस्टेशन ठेकेदारको लापरबाही र जग्गाधनीको अवरोधका कारण निर्माण हुन नसकेको हो । 

पर्वतको जलजला गाउँपालिका–४ ,मोहन चोक देखि रातो ढुङ्गा जोड्ने २२ किलोमिटर दुरीको प्रसारण लाइनको पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले चार वर्षदेखि काम रोकिएको आयोजना प्रमुख बोधराज ढकालले बताउनुभयो ।

सवस्टेशन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको छ । ‘सवस्टेशन भित्र संरचना बनाउने र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ । ५०० वटा मध्य तीन ठाउँमा करिब ५० वटा पोल गाड्न र तार तान्ने काम चार वर्षदेखि रोकिएको छ,’ उहाँले भन्नुभयो ‘बाँकी पोल गाड्न र तार तान्न नपाउँदा आयोजनाले पूर्णता पाउन नसकेको हो ।’

नेपाल बिद्युत प्राधिकरण मार्फत ए टु जेड इन्जिनियरिङले आठ करोडमा सन् २०१६ मा ठेक्का लिएको सवस्टेशन र प्रसारण लाइन २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुवाती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो । सवस्टेशन बनाउन सात रोपनी जग्गा अधिग्रहण भएको थियो । सोही कम्पनीले ठेक्का लिएको दुखु, निस्कोट, अर्मनका विभिन्न ठाउँमा ११ केभी क्षमताको वितरण लाइनले पनि पूर्णता नपाएको मालिका–१,का वडा अध्यक्ष टङ्कप्रसाद पुनले बताउनुभयो । 

निर्माण कम्पनीका प्रतिनिधि सागर लुइँटेलले सवस्टेशन भित्र संरचना बनाउने र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँका अनुसार सवस्टेशनमा कन्ट्रोल रुमको भवन अन्तिम चरणमा पुगेको छ । उहाँले थप्नुभयो ,‘विवाद समाधान गरेर पोल गाड्ने र तार तान्ने वातावरण भएमा दुई महिनाभित्र सवस्टेशन चार्ज गर्न सकिन्छ ।’

बर्खामा केही ठाउँमा गाडेका पोल बगाएको छ । ठेकेदारले ट्रान्सफर्मर लगायतका उपकरण ल्याएर जोडेका छन् । पोल गाडिएको ठाउँमा तार समेत तानेका छन् । कर्मचारी आवास र प्रशासनिक भवन अधुरा छन्  । गण्डकी प्रदेशसभा सदस्य रमेशबहादुर जुग्जालीले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर ठेकेदारलाई काममा फर्काएको बताउनुभयो । 

प्राधिकरणका गण्डकी प्रदेशका निर्देशक   जगदीशचन्द्र जोशीले जनप्रतिनिधिहरूले चासो दिएकाले स्थानीय समस्या समाधान हुने भएकाले कामलाई तीव्रता दिन आयोजना र निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिनुभयो । आयोजनाका अधिकारी, प्राविधिक, निर्माण व्यवसायी र मजदुरहरू गत जेठ महिनादेखि आयोजना स्थलमा थिएनन् ।

सवस्टेशन र प्रसारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धवलागिरि, मालीका र मङ्गला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने नेपाल बिद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताउनुभयो । उहाँले २० किलोमिटर दुरीसम्म एउटा सवस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किलोमिटर सम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन समस्या भएको बताउनुभयो । ‘हाल मिलन चोक सब स्टेसनबाट चार वटा फिडरबाट लामो दुरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ,’ उहाँले भन्नुभयो ।