• १३ साउन २०८१, आइतबार

समय नियाल्ने ‘समय’

blog

वर्तमान समयमा मानिस निकै व्यस्त छ । मनोरञ्जन र आनन्द प्राप्तिका लागि पनि थोरै समय मात्र उपलब्ध छ । जिन्दगीको कतिपय समय आर्थिक क्रियाकलापमा बित्छ । कतिपय समय सामाजिक क्रियाकलापमा बित्छ । आर्थिक र सामाजिक क्रियाकलापमा बित्ने समय महìवपूर्ण समय हुन्, जसले मानिसको जीवनलाई सहज र सम्मानित बनाउन मद्दत गर्दछ । फुर्सदको थोरै समय मात्र मनोरञ्जन र आनन्द प्राप्तिका लागि उपलब्ध हुन्छ । त्यो थोरै समयमा कला, साहित्य, सङ्गीत र यात्रा आदिको माध्यमबाट मनोरञ्जन अथवा आनन्द प्राप्त गर्ने ध्येय हरेक मानिसले राखेको हुन्छ ।

व्यस्त जीवनले गर्दा साहित्यमा पनि लघु आकारका सिर्जनाले प्रश्रय पाइरहेको छ । एकै बसाइ र एकै क्षणमा पठन गर्न सकिने साहित्यिक सिर्जनाप्रति पाठकको अभिरुचि बढेसँगै लघु आकारका सिर्जनामा सर्जकहरू मोडिएका छन् । लघुकथाको सिर्जना र यसको पठनमा बढेको अभिरुचिलाई लघु रचनाप्रतिको आकर्षणकै रूपमा बुझ्न सकिन्छ, जुन व्यस्त जीवनको परिणाम हो ।

एक बसाइमा एउटा लघुकथा मात्रै होइन, सिङ्गै लघुकथा सङ्ग्रहकै पठन सम्भव भएको र यसबाट कथाको विविध रसास्वादन गर्न पाइने भएकाले लघुकथामा पाठकहरूको आकर्षण बढेको हो भन्दा अतिशयोक्ति नहोला । पछिल्लो समय लघुकथाको रचना, गोष्ठी, वाचन र अन्तक्र्रिया बढ्नुका साथै लघुकथासँग सम्बन्धित सामाजिक सञ्जालहरूको सक्रियताले गर्दा लघुकथाका सर्जक र पाठक दुवैलाई उत्तिकै प्रेरित र प्रोत्साहित गरेको पाइन्छ । लघुकथासँग सम्बन्धित सामाजिक सञ्जालहरूकै माध्यमबाट लघुकथाका नयाँनयाँ सर्जकहरू समेत जन्मिरहेका छन् । यस्तै सर्जकमध्येका एक हुनुहुन्छ हरिगोविन्द भोमी ।

त्यसो त हरिगोविन्द भोमी पुराना सर्जक हुनुहुन्छ । उहाँ २०३२ सालदेखि नै साहित्य सिर्जनामा लाग्नु भएको हो । उहाँको नेपालभाषामा ‘ईया किचलय्’ नामक लघुकथा सङ्ग्रह प्रकाशित छ । बीचमा लेखनको निरन्तरता टुटेकाले मात्रै उहाँ पाठकमाझ नौलो लेखक देखिनुभएको हो । २०७२ सालमा सामाजिक सञ्जाल लघुकथा कुनोमा ‘तिहारको उपहार’ शीर्षकको लघुकथा पोष्ट्याएर उहाँ लघुकथाकारको रूपमा उदाउनु भयो । यसपछि उहाँले लघुकथा निरन्तर लेख्दै जानु भयो । 

यसैक्रममा उहाँको ‘समय’ लघुकथा सङ्ग्रह प्रकाशति हुन पुगेको हो । यसको आवरण आकर्षक छ । रातो पृष्ठभूमिमा झुन्डिरहेको समयसूचक घडी र त्यसभित्रको आँखाले समयलाई नियालिरहेको भान हुन्छ । ‘समय’ भित्रका लघुकथाहरू वास्तवमै वर्तमान समयकै प्रतिविम्ब हुन् । वर्तमान समयलाई नै पर्गेलेका छन् लघुकथाकार भोमीले । त्यसैले समयलाई हेर्ने आँखा भन्न सकिन्छ ‘समय’ लघुकथा सङ्ग्रहलाई । वर्तमान समयका विविध सङ्गति र विसङ्गतिलाई केलाउने काम गरेको छ यसभित्रका लघुकथाहरूले ।

‘समय’ भित्र चालीसवटा समयसान्दर्भिक लघुकथा सङ्गृहीत छन् । यी लघुकथामा वर्तमान समय र समाज छन् । सङ्गति र विसङ्गति छन् । आशा र निराशा छन् । विश्वास र अविश्वास अनि अन्धविश्वास छन् । संस्कृति र विकृति छन् । रीति र कुरीति छन् । राजनीति र त्यसभित्रको बेथिति छन् ।  लघुकथा सिद्धान्ततः चोटिला हुन्छन् नै, जसले च्वास्स आगोले झैँ पोल्छन् र मस्तिष्कलाई सन्न बनाउँछन् । भोमीका लघुकथाले वर्तमान समय र समाजका विविध पात्रलाई चोटिलो प्रहार गरेका छन् । कतै हाँस्यको रूपमा त कतै व्यङ्ग्यको रूपमा । सरल लाग्ने लघुकथाहरूले पनि व्यङ्ग्यार्थमा चोटिलो प्रहार गरेर पाठकलाई पठनको आनन्द दिनुका साथै विद्यमान बेथितिविरुद्ध जुरुक्क उठाउने काम पनि गरेका छन् । सरल शब्द र सरल वाक्यको माध्यमबाट कटाक्ष गर्न पनि लघुकथाकार भोमी उत्तिकै खप्पिस हुनुहुन्छ ।

ससाना सन्दर्भ र क्षीण विषयवस्तुलाई पनि उच्च मानवीय संवेदनाको लेपन लगाएर कथिएका भोमीका लघुकथाले पाठकलाई पनि संवेदित पार्नसक्ने सामथ्र्य बोकेका छन् । सहरमा हराउँदै गएको संवेदना, सम्बन्धलाई पैसासँग तौलने प्रवृत्ति, सुविधाभोगी मानसिकता, मरेपछि मात्रै गुन सम्झिने प्रवृत्ति, बिचौलियाको बिगबिगी, गरिबी, बाध्यता र जिजीविषा, ईष्र्या, स्वार्थ र तृष्णाको मनोवृत्ति, नैतिकताको खडेरी, पारिवारिक बेमेल, विसङ्गत राजनीति, भ्रष्ट प्रशासन, बालमनोविज्ञान र खस्कँदो मानवीयता आदि विषयवस्तुमाथि लेखिएका लघुकथामा हाम्रै समाजको चित्रण भएको पाइन्छ । करेन्टले जस्तो झट्का दिने सामथ्र्य पनि ‘अप्रत्याशित’ र ‘सिको’ जस्ता लघुकथामा छन् । 

भोमीका लघुकथामा दलाल प्रवृत्तिप्रति कटाक्ष छ (घरको मूल्य) । जिन्दगीको बाध्यता र जिजीविषा छ (आकाङ्क्षा) । खराब प्रवृत्तिलाई संरक्षण गर्नेप्रति गुनासो छ (आड) । व्यापारी मानसिकताप्रति असन्तुष्टि छ (मानसिकता) । । अहङ्कारी प्रवृत्तिप्रति कटाक्ष छ (मान) । मान्छेको मतलबी प्रवृत्तिप्रति असन्तुष्टि छ (मित्र अमित्र, आत्मालोचना) । मृत्यपश्चात् मूल्याङ्कन गर्ने वा उसको गुन सम्झिने प्रवृत्तिप्रति असन्तुष्टि छ (मूल्याङ्कन) । गरिबी र बेरोजगारीको पीडा छ (फरक जीवन) । बालमनोविज्ञान पनि छ (सन्देश, मनपर्ने कोख) । जहाँ र जेमा पनि घुस खुवाउनैपर्ने खराब प्रवृत्तिप्रति व्यङ्ग्य र कटाक्ष छ (सामलतुमल) । कुरीति र अन्धविश्वासप्रति विद्रोह पनि छ (छाउगोठ) ।

समग्रमा पठनीय छ ‘समय’ लघुकथा सङ्ग्रह  । ‘समय’ मार्फत वर्तमान समयका केही पक्षलाई नियाल्न सकिन्छ । भाषिक कमजोरीले कतैकतै पठनमा बाधा पु¥याए पनि पठनको आनन्दमा भने कुनै कमी महसुस हुँदैन । यति हुँदाहुँदै पनि भोमीका लघुकथामा अकस्मात् अन्त्य, संवेदना र सम्प्रेष्यता, वाह र आहाजस्ता विस्मित र चकित पार्ने पक्षमा सुधारको खाँचो महसुस हुन्छ । सिर्जना अभियान समाज, भक्तपुर प्रकाशक रहेको यस सङ्ग्रहको मूल्य भने १५०÷– रुपियाँ तोकिएको छ ।