• १३ साउन २०८१, आइतबार

तोरीखेतीप्रति कैलालीका किसान आकर्षित

blog

कैलालीको घोडाघोडी नगरपालिकामा किसानले खेतमा लगाएको तोरी फुलेर पहेंलै भएको फाँट । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), पुस ८ गते । कैलालीमा तोरीखेतीप्रति किसानको आकर्षण बढेको छ । तोरीले मूल्य राम्रो पाएपछि तोरीखेतीमा कृषकको आकर्षण बढेको हो । गत वर्ष किसानले नौ हजारदेखि बाह्र हजार क्विन्टलसम्म तोरीको मूल्य पाएका थिए । 

घोडाघोडी नगरपालिका –१ का भगतराम चौधरीले सधैं गहुँखेती गर्दै आएकोमा यस वर्ष एक बिघा खेतमा तोरी लगाउनुभएको छ । समयमै सिंचाइ र मल नपाउँदा गतवर्ष गहुँखेतीबाट घाटा व्यहोरेको अनुभव चौधरीसँग छ  । ‘लगानीकाे हिसाब गर्दा जोताइको पैसा सात हजार घाटा भयो’ उहाँले भन्नुभयो ।

गहुँको तुलनामा तोरीखेतीबाट छिमेकीले राम्रो आम्दानी गरेको देखेपछि चौधरीले यस वर्ष आफूले पनि तोरी छरेको बताउनुभयोे । कैलालीमा ठूलो क्षेत्रमा तोरीखेती गर्नेलाई स्थानीय तहले मल, बीउ, कृषियन्त्र लगायतमा ५० प्रतिशत अनुदान दिन थालेको छ । यसले पनि तोरीखेतीप्रति थप आकर्षण बढेको किसानहरुको भनाइ छ । 

घोडाघोडी नगरपालिका –३ चौरठ्ठीका २५ जना किसानले समुहगत रुपमा तोरी खेती गरेका छन् । घोडाघोडी नगरपालिकाबाट तोरी पकेट क्षेत्रका रुपमा अनुदान लिएर उहाँहरुले १५ बिघा जमिनमा तोरीखेती लगाउनुभएको छ ।  

पहेँलै भएर फुलेको तोरीको फाँट देखाउँदै सयपत्री महिला समूहका अध्यक्ष ज्ञानु चौधरीले सिंचाइको सुविधा नभएको हुनाले पनि यो वर्ष सामूहिक तोरीखेती गरेको बताउनुभयो ।  ‘अहिले खेतमा तोरी राम्रो भएको छ,  दुई जातको तोरी लगाएका छौं, उत्पादन राम्रै हुन्छ भन्ने आशा गरेका छौं’ खुशी हुँदै चौधरीले भन्नुभयो ।

घोडाघोडी नगरपालिकामा तोरीखेतीप्रति किसानको आकर्षण बढाउन वडा नम्बर ३ र ७ मा १५–१५ बिघा क्षेत्रफलमा तोरीखेती गर्नेलाई ५० प्रतिशत मल बीउ, औजारमा अनुदान दिएको बताइएको छ ।  

घोडाघोडी नगरपालिका कृषि शाखा प्रमुख जनक धामीले तोरीले मूल्य पाउनुका साथै गहुँभन्दा छिटो पाक्ने भएकाले तेस्रो खेतीका रुपमा मकै, मुङ खेतीसमेत गर्न पाइने भएकाले किसानको आकर्षण तोरीखेतीमा रहेको बताउनुभयो ।

कैलालीमा आर्थिक वर्ष २०७४–७५ देखि तेलहन जोन परियोजना सञ्चालनमा छ । जोशीपुर, भजनी, जानकी, बर्दगोरिया र घोडाघोडी नगरपालिका तथा गाउँपालिकामा तेलहन जोनका कार्यक्रम लागु भएका छन् । परियोजनाका कैलाली प्रमुख गोविन्द जोशीले गत वर्ष युक्रेन र रुसको युद्धका कारण तोरी र तेलको मूल्य बढेको बताउनुभयो । यस वर्ष किसानको आकर्षण तोरीखेतीमा बढेको हुनसक्ने उहाँले बताउनुभयो । तेलहन जोन कार्यक्रमले तोरीखेती हुने क्षेत्रका किसानलाई बीउ, यान्त्रीकरणलगायतमा सहयोग गर्दैआएको जानकारी दिनुभयो ।

कैलालीमा करिब २० हजार हेक्टर क्षेत्रफलमा तोरीखेती हुने बताउँदै जोशीले एक हेक्टर क्षेत्रफलमा सातदेखि दश क्विन्टलसम्म तोरी फल्ने उल्लेख गर्नुभयो । तोरी उत्पादनका लागि कैलालीमा खेतीयोग्य जमिन रहेको बताउँदै जोशीले यहाँको उत्पादनलाई ब्रान्डिङ गर्न तेल उत्पादन मिल सञ्चालनको तयारी भएको बताउनुभयो । 

परियोजना प्रमुख जोशीले भन्नुभयो, ‘मिल सञ्चालनले कैलालीको तोरीको ब्रान्डिङ गर्नेछ भने तेलको आयात घटाउन र स्थानीय उत्पादनले बजार पाउनेछ ।’