विजयकुमार साह
ढल्केबर, पुस ८ गते । धनुषाको धार्मिक पर्यटक स्थल धनुषाधाममा रहेको धार्मिक महत्वको सरोवरहरुको सरसफाइ गरिएको छ । सरसफाइपछि चिटिक्क देखिएका छन् । स्थानीय युवाहरुले समूह बनाएर धार्मिक महत्वका धनुष सागर र वाणगङ्गा सरोवर सरसफाइ गरेपछि चिटिक्क भएको हो । धनुष सागरमा स्नान गरेमा मुसे रोग (अइल्हा) र छारेरोग निको हुने जनविश्वास छ ।
त्यस्तै, वाणगङ्गा नदी धार्मिक आस्थासँग जोडिएको छ । भगवान श्रीराम माता जानकी र भाइ लक्ष्मणसँग घुम्न आउँदा माता जानकीलाई तिर्खा लागेपछि भगवान रामले वाण प्रहार गरेर वाणगङ्गाको उत्पत्ति गर्नुभएको जनविश्वास छ । सो नदीमा भगवान लक्ष्मणले स्नान गर्नुभएकाले वाणगङ्गालाई लक्ष्मण सागरसमेत भन्ने गरिएको छ ।
यी दुबै सरोवर सरसफाइको अभावमा कुरुप बनेको थियो । स्थानीय सञ्चारकर्मीले युवालाई समेटर सरसफाइमा जुटेपछि सरोवरको मुहार फेरिएको छ । स्थानीय रेडियो धनुषाधामका सञ्चालक तथा सञ्चारकर्मी विनयकुमार यादव नेतृत्वको युवा समूहले धनुष सागर र प्रसिद्ध धनुष मन्दिर सौन्दर्यकरणमा जुट्नुभएको छ ।
समूहले धनुष सागरमा उम्रिएका झारपात र थुप्रिएर जम्मा भएका फोहाेरमैला सरसफाइ गर्नुभयो । सरसफाइपछि धनुष सागरमा दुई वटा मोटरबोट सञ्चालनमा ल्याउने तयारी भइरहेको सरसफाइ अभियानको नेतृत्व गरिरहनुभएका सञ्चारकर्मी यादवले बताउनुभयो ।
त्यस्तै, वाणगङ्गा नदी सरसफाइमा रेडियो धनुषाका सञ्चालक तथा सञ्चारकर्मी मुकेशकुमार ठाकुरको अगुवाइमा गरिरहनुभएको छ । विगत छ महिनादेखि उहाँहरु प्रत्येक शनिबारका दिन नियमित सरसफाइ गर्दैआउनुभएको छ ।
सरसफाइ अभियानमा जनकपुरधाम गङ्गासागर सरसफा अभियानी तथा प्रदेशसभा सदस्य रामअशिष यादव, पर्यावरण संरक्षण अभियानी सुरेश शर्मा, जनकपुरधाम बृहत् क्षेत्र विकास परिषदका अध्यक्ष तथा वरिष्ठ सञ्चारकर्मी शीतल साह, जनपद प्रहरी र सशस्त्र प्रहरीले सहयोग गर्दै आउनुभएको छ ।
रामायणमा उल्लेख भएबमोजिम राजा जनकले पिनाक धनुष उठाउन सक्ने व्यक्तिसँग छोरी सीताको विवाह गर्ने शर्तअनुसार अयोध्याका राजकुमार रामले धनुष उचाल्दा भाँचिएको र सो धनुष तीन टुक्रा भई आकाश, पाताल र एउटा टुक्रा धनुषाधाममा खसेको कुरा विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ ।
धनुषको टुक्रा धनुषाधाम मन्दिरमा स्थापित छ । सोही धनुषको टुक्राको अवशेष दर्शनका लागि आन्तरिक तथा भारतबाट समेत ठूलो सङ्ख्यामा धार्मिक पर्यटक यहाँ आउने गरेका छन् ।
ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस स्थानमा पर्यटन प्रवर्धनका लागि राम्रो वातावरण छ । धार्मिक तथा ऐतिहासिक स्थलहरुको उचित संरक्षण संवर्धन गरी प्रचारप्रसारमा ल्याउन सके अझ बढी पर्यटक भित्र्याउन सकिने स्थानीय युवा दुर्योधन महतोले बताउनुभयो ।
धार्मिक पर्यटक आकर्षणको केन्द्र धनुषाधामस्थित धार्मिक महत्वका सरोवर सरसफाइले आकर्षण बढेको स्थानीय अर्का युवा गोविन्द यादवले बताउनुभयो । धनुषाधाम जिल्लाको ठूलो धार्मिक स्थलको रुपमा स्थापित छ । जनकपुरधाममा जानकी मन्दिरको दर्शन गर्न आउनुहुने भक्तजन यहाँ आउनुहुन्छ, यादवले भन्नुभयो ।
धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले धार्मिक स्थल र धार्मिक आस्थासँग जोडिएका सरोवर सरसफाइमा युवा जुट्नु सराहनीय काम भएको बताउनुभयो । स्थानीय तहमार्फत विभिन्न भौतिक संरचना निर्माण गरिएको बताउँदै नगर प्रमुख मण्डलले पर्यटक आकर्षण गर्नेखालका थप संरचना निर्माणका लागि पर्यटन विभागलगायत सरोकारवाला निकायलाई आग्रह गरिएको बताउनुभयो ।