• ४ जेठ २०८१, शुक्रबार

रुपन्देहीको तिलोत्तमामा ट्राम रेलको शिलान्यास

blog

ट्राम रेलको शिलान्यास गर्नुहुँदै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण । तस्बिर: गोरखापत्र

लक्ष्मण पौडेल

भैरहवा, पुस ८ गते । तिलोत्तमा नगरपालिकाभित्र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न रेल यातायातबाट जोड्न तिलोत्तमा ट्राम रेलको शिलान्यास गरिएको छ । तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले शुक्रवार रेलको शिलान्यास गर्नुभएको हो । 

तिलोत्तमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा अगाडि सारेको उहाँले बताउनुभयो । यो तिलोत्तमा नगरवासीको समग्र साथ र सहयोगमा परियोजना सम्पन्न हुने आशा उहाँले व्यक्त गर्नुभयो । तिलोत्तमा नगरमा नगर विकास कोषले एक हजार बिघामा नयाँ सहर विकास गर्ने कामसमेत अघि बढिरहेको उहाँले बताउनुभयो । धेरै परियोजनाहरू नगरमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो । तिलोत्तमा पब्लिक रेल्वे कम्पनी लिमिटेडका अध्यक्ष हरि तिवारीले समुदाय, स्थानीय पालिका र र एडिबी लगायत दातृ निकायहरूको सहयोगमा परियोजना चलाउन लागेको बताउनुभयो । एक वर्षभित्र ४ किलोमिटरको तयारी पूरा गरेर सञ्चालन हुने उहाँले बताउनुभयो । लुम्बिनी प्रदेश सरकारबाट प्राप्त १५ लाख रुपियाँबाट डिपिआर तयार गरिएको उहाँले जानकारी दिनुभयो । 

रेल्वेका प्रबन्ध निर्देशक भोला शर्माले एक वर्ष ढिलाे भएको बताउनुभयो । कुल आठ अर्ब लागतमा ५० किलोमिटरको रेल सेवा सञ्चालन हुनेछ । स्राेत पहिचान गरी आवश्यक पहल अगाडि बढाइएको उहाँले बताउनुभयो । प्रदेश र नगरपालिकाबाट ५१ प्रतिशत र जनताबाट बाँकी लगानीको तयारी रहेको उहाँले बताउनुभयो । चक्रपथको ४३ फिट भित्री बाटोको छेउमा जोडेर १४ फिट भागमा ट्राम रेल सञ्चालन हुने उहाँले बताउनुभयो । 

यो विद्युतबाट चल्ने र ७० जना चढ्न मिल्ने लाइट रेल्वे भएको उहाँले बताउनुभयो । रेल सेवामा दैनिक ३० हजार, आठ लाख मासिक र वर्षमा एक करोड मानिसले सेवा लिने तथा यसबाहेक सामान ढुवानी लगायतको समेत सेवा दिन सकिने सम्भावना रहेको उहाँले बताउनुभयो । यसबाट वार्षिक एक अर्ब १० करोड आम्दानी गर्ने र खर्च कटाएर एक अर्ब बचत हुने उहाँले दाबी गर्नुभयो । 

परियोजना सुरु भएपछि एक सय जना स्थायी कर्मचारीले रोजगार पाउनेछन् । ६ वटा ट्राम टाइगर प्यालेस, ६ वटा ट्राम रोहिणीतर्फ चल्ने उहाँले बताउनुभयो । एक दिनमा एउटा ट्राममा एक पटकमा २५ सय चढ्ने सक्ने उहाँले बताउनुभयो । पहिलो चरणमा चक्रपथ सकेपछि बाँकी हाइवेलाई जोड्ने गरी स्तरवृद्धि र विकास गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । रेल्वेमा ५५० जना संस्थापक सदस्य रहेको उहाँले बताउनुभयो । कार्यक्रममा सचिव डिल्लीनारायण पाण्डेले देशकै नमुना रेल्वे सञ्चालन गर्न आफूहरू आतुर रहेको बताउनुभयो ।