• १२ असोज २०८१, शनिबार

हिलिहाङका चार सय बढीको स्वास्थ्य परीक्षण

blog

हिलिहाङ गाउँपालिकाको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा आयोजित शिविरमा स्वास्थ्य परीक्षणका लागि पालो कुर्दै ज्येष्ठ नागरिक। तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, पुस ७ गते। हिलिहाङ गाउँपालिकाले आयोजना गरेको ज्येष्ठ नागरिक तथा महिला लक्षित निःशुल्क स्वास्थ्य शिविरमा चार सय आठ जनाले लाभ लिएका छन्। 

गोपेटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा स्वास्थ्य परीक्षण गराउने मध्ये सबैभन्दा धेरै हाडजोर्नी र नशा सम्बन्धी समस्या लिएर आएको  गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख चन्द्र घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार शिविरमा दुई सय एक हाडजोर्नी र नशाको समस्या भएका बिरामीको स्वास्थ्य परीक्षण गरिएको छ।

नाक, कान र घाँटी सम्बन्धी समस्या भएका ७१, महिला तथा स्त्रीरोग सम्बन्धी समस्या देखाउने ६६, मुटु, सुगर र प्रेसर सम्बन्धी समस्या भएका ६२ र अन्य आठ जनालाई सेवा दिइएको हो। 

शिविरमा झापास्थित बिएण्ड सी अस्पतालबाट आएका विशेषज्ञ चिकित्सक सहितका स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य जाँचसँगै परामर्श दिएका हुन्। अस्पताल जान नसक्ने अवस्थाका बिरामीलाई सेवा दिन स्वास्थ्य शिविर राखिएको गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले जानकारी दिनुभयो।