दिपकप्रसाद गौतम
वीरगञ्ज, पुस ७ गते । वीरगन्ज महानगरपालिकाले मासिक ३० युनिटसम्म बिजुली खपत गर्ने नगरवासीको बिजुली महसुल लगायतका महसुल तिरीदिने भएको छ । बिहीबार महानगरले पत्रकार सम्मेलन गर्दै महानगरपालिका र विद्युत प्राधिकरणबीच सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी गराइएको छ ।
सम्झौतापत्रमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख जितेन्द्रकुमार झा, सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।
महानगरका नगरप्रमुख राजेशमान सिंहले शपथ लिनेक्रममा सो घोषणा गर्नुभएको थियो । पहिलो बैठकबाटै विद्युत महसुल तिरीदिने निर्णय गराई नगरपरिषद्बाट पारित समेत उहाँले गराउनुभएको थियो ।
नगरप्रमुख सिंहले पत्रकार सम्मेलनमा भन्नुभयो, ‘हामीले शपथ लिएसँगै यो निर्णय कार्यान्वयन गराउने प्रयास गरेका हौँ ।’ लाभग्राही पहिचान र तथ्याङ्क सङ्कलन गर्न समय लाग्यो, अब ढिलै भए पनि यो महिनादेखि कार्यान्वयनमा ल्याउन हामी सफल भएका छौँ ।’
महानगरपालिका र विद्युत प्राधिकरणबीच भएको आठ बुँदे सम्झौतामा महानगरपालिका भित्रका ग्राहस्थ (घरेलु) मिटरमा ५ र १५ एम्पीआरको एमसीबी प्रयोग गरी अधिकतम ३० युनिट खपत गर्ने ग्राहकको विद्युत महसुल र न्यूनतम मासिक महसुल महानगरले तिर्नेछ ।