• ११ असार २०८१, मङ्गलबार

आगामी शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागू हुने

blog

काठमाडौँ, पुस ७ गते । आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । पाठ्यक्रम परिवर्तनका लागि काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । 

जसअन्तर्गत कक्षा ५ र १० को पाठ्यक्रमको खाका निर्माण सकिएको र कक्षा ८ को खाका निर्माणकै क्रममा रहेको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक  वैकुण्ठप्रसाद अर्यालले बताउनुभयो । 

उहाँले भन्नुभयो,  ‘आगामी शैक्षिक सत्रबाट कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रमअनुसार पढाइ हुनेछ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले काम गरिरहेको छ । कक्षा ५ र १० को पाठ्यक्रमको खाका तयार भएको छ । अब कक्षा ८ को खाका तयार गर्दैछौं । 

नयाँ पाठ्यपुस्तकको ‘प्रिन्ट रेडी कपी’ (छाप्नका लागि तयार भएको मस्यौदा) जनक शिक्षा सामग्री केन्द्रलाई पठाएपछि केन्द्रले छपाइ गर्नेछ । कक्षा ५ को प्रिन्ट रेडी कपी जनक शिक्षा सामग्री केन्द्रमा पठाइसकिएको उहाँले बताउनुभयो ।

गत वर्ष कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रममा आधारित भएर पठनपाठन सुरु भइसकेको छ । आगामी वर्ष २०८० मा माध्यमिक शिक्षा परीक्षा (एसइई) पढेर परीक्षा दिने विद्यार्थीले नयाँ पाठ्यक्रममा आधारित भएर परीक्षा दिनुपर्नेछ । तर २०७९ सालको एसइई दिने विद्यार्थीले भने पुरानै पाठ्यक्रममा आधारित भएर परीक्षा दिनेछन् । 

सरकारले २०८० सालसम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू गर्ने योजना यसअघि बनाएको थियो । सरकारको यही योजनाको आधारमा नयाँ पाठ्यक्रम लागू गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अर्यालले बताउनुभयो । 

कक्षा ८ र १० को अनिवार्य विषयअन्तर्गत अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषय तथा कक्षा ५ को अङ्ग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक र स्वास्थ्य तथा शारीरिक विषयको पाठ्यक्रम नयाँ हुनेछ  ।

विश्वव्यापी नियम अनुसार नै हरेक पाँच वर्षमा पाठ्यपुस्तकको पाठ्यक्रम पुनरवलोकन हुने र १० वर्षमा पाठ्यक्रम नै परिवर्तन गर्ने व्यवस्था रहेको छ । यसअघि कुनै कक्षाको १० वर्ष र कुनैको १३ वर्षमा पाठ्यक्रम परिवर्तन गरिएको थियो । २०६३ सालपछि २०७६ सालमा मात्र पाठ्यक्रम परिवर्तन भएको थियो । 

‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ २०७६ अनुसार २०८० सम्म विद्यालय तहका सबै कक्षाको पाठ्यक्रम परिवर्तन गर्ने योजना छ । २०७७ मा मात्र कक्षा १ र ११ को पाठ्यक्रम परिवर्तन भएको थियो । २०७८ मा कक्षा २ ,३ र १२ कक्षाको पाठ्यक्रम परिवर्तन गरी नयाँ लागू भएको थियो । यस्तै २०७९ सालको नयाँ शैक्षिक सत्रदेखि कक्षा ४, ७ र ९ मा नयाँ पाठ्यक्रम लागू भइसकेको छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।