• १३ साउन २०८१, आइतबार

सजावटका लागि वालपेपर

blog

काठमाडौँ, पुस ७ गते । घरको भित्तामा भनेजस्तो रङ लगाउन महँगो पर्ने भएपछि गोठाटारकी सनाया कार्कीले वातावरणमैत्री अनि आकर्षक साजसज्जाका लागि वालपेपर हाल्ने सोच बनाउनुभयो। “नयाँ घरमा आफूलाई मन परेको रङ लगाउँदा धेरै महँगो पर्ने भयो,” उहाँले भन्नुभयो, “एउटा कोठा रङ्गाउँदा ३० देखि ४० हजार रुपियाँ पर्ने भयो। अनि मैले सस्तो भएकाले भित्ता आकर्षक बनाउन वालपेपर नै लगाएँ।” रङको जस्तो गन्ध नहुने, वातावरणमैत्री र १० वर्ष टिक्छ भनेपछि आकर्षक डिजाइनको वालपेपर लगाएको उहाँले बताउनुभयो। 

घरको भित्तामा थरीथरीका रङरोगन गर्ने, पेन्टिङ राख्ने प्रचलन नयाँ होइन। घर चिटिक्क बनाउन यस्ता अनेकन विधि अपनाउने गरिएको छ। यसैको सिलसिला हो, वालपेपर पनि। अचेल भित्तामा रङरोगन लगाउनुको साटो वालपेपर टाँस्ने क्रम बढ्दो छ। “घर वा कोठामा कुन डिजाइनको वालपेपर राख्ने, कसरी टाँस्ने, यसलाई टाँसेपछि कति वर्षसम्म टिक्छ, वालपेपर उप्काउनु परेमा भित्ताको रङ बिग्रिन्छ कि बिग्रिँदैन भन्ने कौतूहल धैरैलाई हुन्छ,” कार्कीले थप्नुभयो, “यो अहिलेको फेसन नै हो।  ढुक्क भएर प्रयोग गर्दा हुन्छ।” 

अहिले लोकप्रिय भए पनि वालपेपरको प्रयोग पहिलेदेखि नै भएको गृहिणी रेणुका बान्तवाले बताउनुभयो। “मैले १० वर्ष भयो घरको भित्तामा वालपेपर लगाएको। अहिलेजस्तो थरीथरीका नभए पनि साधारण वालपेपर भने पहिलेबाटै थियो,” उहाँले भन्नुभयो। उहाँका अनुसार पुरानो भएपछि वालपेपर परिवर्तन गर्न सकिन्छ। एक पटक राखिएको वालपेपर लगभग १० वर्षसम्म टिक्छ। 

“वालपेपरको मुख्य विशेषता भनेकै विभिन्न कलर र डिजाइनमा पाउनु हो,” वालपेपर नेपालका धीरेन्द्र शाहले भन्नुभयो। बैठक कोठा र शयन कक्षको भित्ता आकर्षक बनाउन विभिन्न फूल र प्राकृतिक दृश्यहरू रहेको डिजाइनमा वालपेपर पाउन सकिन्छ। यसबाहेक आफ्नो इच्छाअनुसार वालपेपर पनि बजारमा छनोट गर्न सकिने जानकारी उहाँले दिनुभयो। शाहले वालपेपर सादा, विभिन्न फूल एवं प्राकृतिक दृश्यका डिजाइनमा उपलब्ध हुने बताउनुभयो। झ्याल भएको भित्तामा बुट्टा नभएको सादा वाल पेपर र अन्य भित्तामा बुट्टे वालपेपर प्रयोग गर्न सकिने सुझाव उहाँले दिनुभयो। “वालपेपर मैलो भएमा पानीले पुछ्न पनि मिल्छ। झन्झट कम हुने र समयको बचत हुने भएकाले अहिले यो सबैको रोजाइ बन्दै गएको छ,” उहाँले भन्नुभयो। 

वालपेपर टाँस्ने भित्ता एकदमै चिल्लो हुनुपर्छ। पुटिङ गरिएको भए अझ राम्रो हुन्छ। पुटिङ गरिएको छैन भने एकसरो प्राइमर वा रङ लगाएको भने हुनैपर्छ। यसो हुँदा वालपेपर सजिलै टाँस्न सकिन्छ। भित्ता चिल्लो भएन भने वाल पेपर राम्ररी नटाँसिने शाहाले बताउनुभयो। शाहका अनुसार वालपेपर राख्दा सबै भित्तामा धेरै बुट्टे र भद्दा खालको राख्नु हुँदैन। वाल पेपर टाँस्दा भित्ता राम्ररी छोपिने गरी टाँस्नुपर्छ। बजारमा अहिले स्टिकरजस्तो वालपेपर पनि आएको छ। यो फेबिकल र गमको प्रयोगबिना नै टाँस्न मिल्छ। धेरै चिसो र पानी रसाउने खालको भित्ता छ भने वालपेपर छिटो उप्कन सक्छ। त्यसैले पानी रसाउने भित्तामा वालपेपर टाँस्नु उपयुक्त हुँदैन। सदाबहार र परिवारका सबैलाई मन पर्ने खालको बुट्टा छनोट गर्नुपर्छ। वालपेपर टाँस्ने गम पनि उच्च गुणस्तरको हुनुपर्छ। दक्ष व्यक्तिलाई मात्र वालपेपर टाँस्ने जिम्मा दिनुपर्छ।