चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक १० गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो तीन महिनाको अवधिमा छ हजारभन्दा बढी सेवाग्राहीलाई सेवा प्रवाह गरेको छ । चालु आर्थिक वर्षको तीन महिना अर्थात् असोजसम्ममा जिल्ला प्रशासन कार्यालयले कुल छ हजार २३५ जनालाई विभिन्न सेवा प्रवाह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले सार्वजनिक गर्नुभएको सेवा प्रवाहको विवरण अनुसार यस अवधिमा सबैभन्दा बढी राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरिएको छ । साउनदेखि असोज महिनासम्ममा दुई हजार ७६७ जनाको राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण दर्ता गरिएको छ ।
असोजसम्ममा एक हजार ४५८ जनालाई नागरिकता प्रदान गरिएको प्रजिअ सेढाइँले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयले प्रदान गरेको नागरिकता विवरणअनुसार ७०४ जनालाई नयाँ नागरिकता र ७५४ जनालाई प्रतिलिपि वितरण गरिएको छ । यस्तै एक हजार १९२ जनालाई राहदानीसम्बन्धी सेवा प्रवाह गरेको प्रशासन कार्यालयले जनाएको छ ।
यसैगरी, १८५ जनालाई राष्ट्रिय परिचयपत्र (कार्ड) वितरण गरिएको छ भने २२ जना बालबच्चालाई नाबालक परिचयपत्र वितरण गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले सङ्घ संस्था दर्ता तथा नवीकरण, हातहतियार नवीकरणलगायतका अन्य सेवा प्रवाह गरेको छ । प्रशासन कार्यालयमा तीन महिनाको अवधिमा अभद्र व्यवहारसम्बन्धी र ठाडो उजुरीसहित १६ वटा मुद्दा दर्ता भएका छन् ।
यता पछिल्लो तीन महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह भएका सेवामध्ये असोजमा मात्र एक हजार ३८५ जनालाई विभिन्न सेवा प्रदान गरिएको छ । असोजमा प्रशासन कार्यालयले १९३ जनालाई राहदानीसम्बन्धी अनलाइन फाराम निःशुल्क भरिदिएको छ । त्यस्तै २०७ जना सेवाग्रहीलाई विभिन्न कागजातको फोटोकपीसम्बन्धी निःशुल्क सेवा प्रवाह गरेको प्रशासन कार्यालयले जनाएको छ ।