• १० कात्तिक २०८२, सोमबार

पालमुनि रात कटाउँदै सुत्केरी र गर्भवती

blog

फाइल तस्बिर

कोकिला ढकाल

इलाम, कात्तिक १० गते । गत असोज १८ गते राति निदाइरहेकी गायत्री शिवाले बाहिरको होहल्ला सुनेपछि आफ्नी पाँचमहिने छोरी च्याप्न मात्र भ्याउनुभयो । निद्राबाट ब्युँझिँदा खोलाले आफू बसेको घर आधा बगाइसकेको थियो । घर छाडेर बाहिर निस्कँदा चट्याङ, हावाहुरी र मुसलधारे वर्षा । कता जाने भन्ने होसै पाउनुभएन । घरबाहिर रहेका मानिसले शिवालाई तान्दै नजिकै रहेको माईभगवती वृद्धाश्रमतिर लगेको याद छ । कहाँबाट माईखोला पस्यो, मध्यरातमा खोलाले के ग¥यो थाहा पाउने पनि अवस्था थिएन । 

बिहान उज्यालो भएसँगै आफ्नो मात्र होइन, टापु क्षेत्रका धेरै घर थिएनन् । लेदो र बाढीले बगाएर ल्याएका रुख हिलोमा गाडिएको मात्र देखियो । उहाँले भन्नुभयो, “बिहान त यहाँका मान्छे कहाँ छन् होला भन्ने लाग्यो । केही छिमेकी यहाँ भेला भएको देखेँ । हाम्रो घरपरिवार त कता हो कता सपना जस्तो लाग्यो ।” शिवा अहिले पालको ओतमा बस्दै आउनुभएको छ । उहाँकी छोरीलाई ज्वरो, खोकीले धेरै सताएको छ । उपचार गर्न लैजान सम्भव पनि छैन । एकसरो लुगाले रात कटाउन मुस्किल छ । राति पालबाट शीत चुहिएर ओढेको ब्ल्याङ्केट पनि भिजेको हुन्छ । नानी सुताउने तातो लुगा छैन ।  

शिवाको पीडा अझै छ । सरकार र विभिन्न सङ्घ संस्थाले दिएको राहतले नै यतिन्जेल धानेको छ तर धेरै परिवारले एउटै भाँडोमा पकाएर खाएको खानाले दुध नआउँदा आमाको दुधको भरमा रहेकी शिवाकी सानी छोरीलाई समस्या छ । उहाँ भन्नुहुन्छ, “अहिले हामी सबै सँगै खाना खान्छौँ । पोसिलो खाना त के हुनु र न्युट्रेलाको तरकारी, मुसुरोको दाल र भात अहिलेको हाम्रो खाना हो । गिट्टी कुटेर गुजारा गरेका थियौँ । बाढीले घर नै बगाइदियो, कामको त के कुरा गर्नु ?”

गायत्रीसँगै एउटै पालमुनि बस्दै आएकी दीपा शिवा अहिले सात महिनाकी गर्भवती हुनुहुन्छ । दीपालाई भिडियो एक्सरे गर्न डाक्टरले बोलाएको निकै समय भयो तर उहाँ अस्पतालसम्म जान सक्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “हातखुट्टा सुन्निन थालेका छन् । चिसो पनि धेरै बढेको छ, दिउँसो त घामको तातोमा बिताउँदै छौँ ।  राति चाहिँ पालभित्र शीत चुहिने, चिसो धेरै हुने भएकाले आफू जस्तै अन्य गर्भवती, सुत्केरी र साना बच्चाको बिजोग भएको छ । यहाँ साना नानी धेरै जना बिरामी छन् । ठुलालाई राहतमा केही लुगा कपडा आए पनि पाँच वर्षसम्मका नानीहरूलाई खासै लुगा छैन ।” 

साना बालबालिका, बिरामी, सुत्केरी र गर्भवती महिलालाई आवश्यक पोषणयुक्त खाना नहुँदा निकै समस्या रहेको अर्की बाढीपीडित विष्णु शिवाको भनाइ छ । बर्सौंदेखि गिट्टी कुटेर माईखोलाको टापुमा बस्दै आएका यहाँका धेरै परिवारको अहिले रोजगारीको मेलो पनि केही नभएको विष्णुले बताउनुभयो । उहाँले भन्नुभयो, “एक गाडी गिट्टी बनाउँदा तीन हजार रुपियाँ हुन्थ्यो । त्यसैले घरको भाडा तिर्ने, घरखर्च चलाउने नानीहरूलाई स्कुलमा लुगा र कापीकलम किनिदिने गरेका थियौँ । बाढीले हाम्रो उठिबास लगाइहाल्यो । अहिले न जुत्ताचप्पल छ न तातो लुगा छ ।”

यो पीडा टापु क्षेत्रमा बगेका घरका प्रत्येक परिवारको हो । यो क्षेत्रमा रहेका २६ घर माईखोलाको बाढीले बगाएको छ । बाँकी रहेका १० घरलाई पनि लेदोले पुरेको स्थानीय जगत नेम्वाङले बताउनुभयो । 

टापु क्षेत्रको जस्तै पीडा अहिले जिल्लाभरि नै छ । चिसो बढ्न थालेपछि मुख्य समस्या बाढीपहिरोपीडित वृद्धवृद्धा, बालबालिका, सुत्केरी, गर्भवती र दीर्घरोगीमा छ । माईखोलाको टापु क्षेत्रमा एकै ठाउँबाट धेरै घर बगेका थिए । जिल्ला प्रशासन कार्यालय इलामको तथ्याङ्क अनुसार पहिरोमा परी अहिलेसम्म इलाममा ३९ जनाको ज्यान गएको छ । एक जना बेपत्ता छन् । यस्तै ३३६ परिवारको घरमा पूर्ण क्षति भएको छ । ८२८ परिवारको घरमा आंशिक क्षति भएको छ । ११ परिवारले सामुायिक भवनमा रात कटाउँदै छन् । ४३८ परिवारले आफन्त र छिमेकीकोमा आश्रय लिइरहेका छन् ।