• १० कात्तिक २०८२, सोमबार

छठ पर्व : मडाहा खोलामा सात सय घाट निर्माण

blog

महोत्तरीको गौशाला नगरपालिका ५ स्थित मडाहा खोलाको तटमा निर्माण भइरहेको छठ घाट । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिबास, कात्तिक १० गते ।
मधेश प्रदेशभर लोकआस्थाको महान् पर्व छठ नजिकिँदै गर्दा महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ स्थित मडाहा खोलाको पूर्वी तटमा निर्माण गरिएको विशालकाय छठ घाट चर्चामा छ । यो घाट हाल प्रदेशकै सबैभन्दा लामो र भव्य मानिएको छ ।

छठ पूजा समितिका अनुसार मडाहा खोलाको दक्षिणतर्फको पक्की पुलदेखि उत्तरतर्फ सोनी र मडाहा खोलाको सङ्गम विन्दुसम्म फैलिएको उक्त घाटको लम्बाइ करिब २ किलोमिटर छ । नदी तटमा एकैसाथ सात सय वटा सामूहिक घाट निर्माणको काम युद्धस्तरमा भइरहेको छ । दीपावली लगत्तै सुरु भएको घाट निर्माणलाई सोमबार अन्तिम रुप दिन स्थानीय जुटेका छन् । 
स्थानीयहरूको दाबीअनुसार, यो मधेश प्रदेशकै सबैभन्दा लामो र विशाल छठ घाट हो ।

छठ पर्व र जलाशयबिचको धार्मिक सम्बन्धलाई दृष्टिगत गर्दै मडाहा खोलाको बहाव मोडेर प्रत्येक घाटमा पवित्र जल प्रवाह गरिने व्यवस्था मिलाइएको छ । घाट निर्माण, सजावट, ध्वनि तथा प्रकाश संयोजनलगायतको व्यवस्थापन स्थानीय भक्तजन, छठ पूजा समिति र वडा कार्यालयको समन्वयमा भइरहेको छ ।

गौशाला–५ का वडाध्यक्ष ओमप्रकाश गुप्ताका अनुसार नदी तटको छठ घाट निर्माणमा करिब सात लाख रुपियाँ खर्च हुने अनुमान छ । सोमध्ये वडाले तीन लाख रुपियाँ बजेट छुट्याएको छ भने बाँकी रकमका लागि प्रति घाट एक हजार रुपियाँ सहयोग शुल्क राखिएको उहाँले बताउनुभयो । यसबाट करिब चार लाख रुपियाँ सङ्कलन हुने अनुमान गरिएको छ ।

गरीब र विपन्न वर्गका लागि निःशुल्क र सामान्य परिवारका लागि पाँच सय रुपियाँ शुल्कमा घाट उपलब्ध गराइने व्यवस्था गरिएको वडाध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।

आज साँझ हुने छठ पूजालाई लक्षित गर्दै साँझिया घाटमा रातभर जाग्राम, भजनकीर्तन र विविध धार्मिक सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने तयारी गरिएको छ । यस अवसरमा १५ देखि २० हजार दर्शनार्थी सहभागी हुने समितिको अनुमान छ ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रमेश लामाले छठ घाटमा सुरक्षाको विशेष व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार छठ मेलामा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन इलाका, जिल्ला र गणस्तरका प्रहरी परिचालनको तयारी गरिएको छ ।

नदी किनाराको छठलाई पवित्र र आकर्षक मानिन्छ । यसपटक मडाहा खोलाको यो विशाल छठ घाट, धार्मिक अनुष्ठान र सांस्कृतिक कार्यक्रमहरूको सङ्गम बनेको छ । जसले यस वर्षको छठ पर्वलाई मधेशकै सबैभन्दा भव्य र व्यवस्थित पर्व बनाउने अपेक्षा गरिएको छ ।

मडाहा नदी तटमा आयोजना हुने छठ पर्वलाई सभ्य, भव्य, व्यवस्थित र सुरक्षित बनाउन सबैको साथ सहयोग र शुभेच्छाका लागि वडाध्यक्ष गुप्ताले आग्रह गर्नुभएको छ ।