गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १० गते । प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र युवा तथा खेलकुदमन्त्री आइतबार नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वसचिव सुधा गौतम स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्रीद्वय गौतम र गुप्ताले आइतबारै राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि भदौ २७ गते प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त हुनुभयो । उहाँले भदौ ३० गते र असोज ६ गतेपछि आइतबार मन्त्रीपरिषद् विस्तार गर्नुभएको हो । यससँगै प्रधानमन्त्रीसहित मन्त्रीपरिषद्मा १० जनाको प्रतिनिधित्व भएको छ । प्रधानमन्त्री कार्कीको जिम्मेवारीमा परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालयसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेका छन् ।
भदौ ३० गते अर्थ एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल मन्त्रीपरिषद्मा सामेल हुनुभयो । असोज ६ गते उद्योग, वाणिज्य तथा आपूर्तिसँगै कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नियुक्त हुनुभयो ।
स्वास्थ्य सचिवदेखि मन्त्रीसम्म
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा गौतमले मन्त्रालयको प्रशासनिक नेतृत्व गरिसक्नुभएको छ । नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष गौतमले २०३९ मा स्वास्थ्य क्षेत्रमा सेवा सुरु गर्नुभयो । उहाँले स्वास्थ्य सचिवको जिम्मेवारीबाट कार्यकाल पूरा नहुँदै राजीनामा दिनुभयो । उहाँ स्त्री एवं प्रसूति रोग विशेषज्ञ एवं जनस्वास्थ्यविद् हुनुहुन्छ । मन्त्री गौतमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँले अफ्रिकी देशमा गएर पनि स्वास्थ्य सेवाको क्षेत्रमा काम गर्नुभएको छ । लेखनमा रुचि राख्ने उहाँका ‘अप्रमेय’, ‘सिंहदरबारको घुम्ने मेच’ पुस्तक प्रकाशित छन् ।
जेनजीका प्रतिनिधि गुप्ता
सामाजिक संस्था ‘हन्डे«ड ग्रुप’ मार्फत सामाजिक कार्यमा सक्रिय बब्लु गुप्ता जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै मन्त्रीपरिषद्मा सामेल हुनुभएको हो । उहाँले कोभिड–१९ को वैश्विक महामारीमा खाना, कपडा वितरण तथा बिरामीलाई रगतको व्यवस्थापन गर्न सक्रिय हुनुभयो ।
उहाँले आर्थिक रूपमा विपन्न विद्यार्थीको पठनपाठन गराउनेदेखि सामाजिक उत्तरदायित्वको क्षेत्रमा विभिन्न काम गर्दै आउनुभएको छ । मन्त्रीपरिषद्मा जेनजी पुस्ताको प्रतिनिधि सुनिश्चित गर्ने विषयमा बहस भइरहँदा उहाँले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।
प्रत्यक्ष प्रसारण गरिने
यसैबिच युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय अन्तर्गतका सम्पूर्ण निकायका बैठक तथा निर्णय प्रत्यक्ष प्रसारण गर्ने बताउनुभएको छ । मन्त्रालयमा आइतबार कार्यभार समाल्दै मन्त्री गुप्ताले यस्तो निर्णय गर्नुभएको हो । उहाँको यो पहिलो निर्णय हो । पछिल्लो समय जेनजी समूहले उठाएका माग पूरा गर्ने सम्बन्धमा मन्त्रालयका अधिकारीसँग सल्लाह गरेर निर्णय गरिने पनि सो अवसरमा मन्त्री गुप्तले बताउनुभयो । उहाँले भन्नुभयो, “यतिबेला बोलेरभन्दा पनि कामै गरेर देखाउनुपर्ने अवस्था छ । अहिले नै धेरै बोल्यो भने काम गर्न कठिन छ । जतिसक्दो काम गर्छौं । हामीले गरेको कामको ब्रिफिङ गर्छौं ।”
सिराहाको लहान स्थायी निवासी गुप्ता ‘हन्डे«ड ग्रुप’ नामको सामाजिक समूह गठन गरेर समाज सेवामा लाग्नुभएको थियो । यस समूहले विभिन्न अस्पतालका बिरामीलाई रगत खोजेर उपलब्ध गराउने, राजधानीमा मजदुरी गरेर जीवन निर्वाह गरिरहेका लागि निःशुल्क खाना दिने, वैदेशिक रोजगारीमा जाँदा ठगिएर फर्केकाका लागि न्याय तथा क्षतिपूर्तिका लागि पैरवी गर्नेलगायतका काम गर्दै आएको छ ।