गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ९ गते । साहित्यकारद्वय ध्रुव मधिकर्मी र लक्ष्मणप्रसाद गौतमलाई यस वर्षको ग्वंगः सिरपाः सम्मान प्रदान गरिएको छ । साहित्यिक सम्मान सङ्गमको आयोजनामा भक्तपुरमा भएको सो कार्यक्रममा दाता एवं वरिष्ठ निबन्धकार तेजेश्वरबाबु ग्वंगःले जनही पचास हजार पाँच रुपियाँ तथा प्रमुख अतिथि प्राध्यापक केदारभक्त माथेमाले सम्मानपत्र प्रदान गर्नुभयो ।
प्रा. माथेमाले सम्मान र पुरस्कारले स्रष्टाको लेखनको मूल्याङ्कनका साथै नयाँ सिर्जनाका लागि प्रेरित गर्ने बताउनुभयो । पुरस्कारका दाता निबन्धकार ग्वंगःले महाकवि लक्ष्मीप्रसाद देवकोटाकहाँ ट्युसन पढेपछि आफू साहित्यमा लाग्न प्रेरित भएको बताउँदै यसरी स्रष्टालाई सम्मान गर्न पाउँदा आफूलाई नयाँ सिर्जना गरे जस्तै अनुभूति भएको बताउनुभयो ।
निबन्धकार मुकुन्दराज शर्माले सम्मानित प्रतिभाका कृति एवं परिचयबारे धारणा राख्दै कथाकारका रूपमा परिचित धु्रव मधिकर्मीका व्यङ्ग्यमा समसामयिक विषय गहन रूपमा आएको र समालोचक गौतमका निबन्धमा जीवनका अनुभूतिलाई केलाउने सुन्दर प्रयास रहेको बताउनुभयो ।
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ को संयोजकत्वमा सो कार्यक्रमको आयोजना गरिएको हो । साहित्यकार श्रेष्ठले यो समयमा असाहित्यकारले साहित्यिक पुरस्कार दिने चलन बढेको तर यस्ता पुरस्कार ठुलो राशिकै भए पनि निरन्तर नभएको बताउनुभयो । उहाँले भन्नुभयो “तेजेश्वर ग्वंगःले आफ्नो जीवनकालमा पाएका पुरस्कार रकम जम्मा गरेर त्यसलाई अक्षयकोषका रूपमा स्थापना गरी स्रस्टाहरूलाई नै पुरस्कृत गर्दै आउनुभएको छ । जुन सराहनीय छ ।”
यसै गरी ग्वंगः सिरपाः कार्यसमितिका सदस्य तथा ग्वंगःका छोरा सञ्जीव गोगलले ९३ वर्षीय ग्वंगःको साहित्यिक प्रतिबद्धता र लगावबारे जानकारी गराउनुभयो ।
यसै गरी कार्यक्रममा सम्मानित स्रष्टाद्वय मधिकर्मी र गौतमले आभार व्यक्त गर्नुभयो । ग्वंगः सिरपाः सम्मान प्रत्येक दुई वर्षमा दुई जना स्रष्टालाई प्रदान गरिन्छ ।