ज्ञानु पंगेनी
मध्यविन्दु , कात्तिक १० गते । रोटरी क्लब अफ कावासोतीले तीन हजार जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको जनाएको छ । क्लबले कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्लबका संस्थापक अध्यक्ष भरत शर्मा पोख्रेलले ६ वर्षको अवधिमा तीन हजार जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको जानकारी दिनुभयो ।
यस्तै, २५ हजारभन्दा बढिले निःशुल्क रुपमा आँखा परीक्षण गरेको उहाँले बताउनुभयो । रोटरी क्लबले स्वास्थ्य क्षेत्रलाई महत्त्व दिएर सामाजिक काम गर्दै आएको बताउँदै उहाँले विषेश गरी ग्रामीण भेगका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
उहाँले मोतियाबिन्दुका बारेमा अझै पनि सचेतना जगाउन खाँचो रहेको बताउनुभएको छ । वृद्ध हुँदै जाँदा आँखा धमिलो देखिनुलाई सामान्य अवस्था मानेर परीक्षण नगर्ने परिपाटी नेपाली समाजमा रहेको कारण मोतियाबिन्दुले आँखामा धेरै असर गरिसकेपछि उपचारमा समेत समस्या हुने उहाँको भनाइ छ ।
शिविर सञ्चालन गर्दाको अनुभवमा ७० प्रतिशत महिलाहरूमा मोतियाबिन्दु देखिने गरेको पोख्रेलले बताउनुभयो । महिलाहरूले चुलोचौकोको कामधन्दा गर्नुपर्ने भएको हुँदा पनि धेरैजसो महिलामा यो समस्या हुने र महिलाहरू नै धेरै शिविरबाट लाभान्वित भएको उहाँको भनाइ छ ।
यसैबिच, रोटरी क्लब अफ कावासोतीले मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको छ । क्लबले यही कात्तिक ११ गतेदेखि तीन दिनसम्म जिल्लास्थित मध्यविन्दु प्रादेशिक अस्पताल परिसरमा मोतियाबिन्दुको उपचारका लागि शल्यक्रिया शिविर गर्न लागेको क्लबका अध्यक्ष नारायण न्यौपानेले बताउनुभयो ।
क्लबले यस अघि विभिन्न स्थानमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको थियो । गैँडाकोटको दुई स्थान, मध्यविन्दुको एक स्थान, कावासोतीको पाँच स्थानमा गरिएको शिविरबाट मोतियाबिन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने गरी शिविर गर्न लागिएको क्लबका अध्यक्ष न्यौपानेले बताउनुभयो ।
तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोगमा गर्न लागिएको शिविरबाट तीन सय जनाले शल्यक्रिया सेवा लिने उहाँले बताउनुभयो । शिविरमा कुनै पनि शुल्क नलाग्ने भन्दै मोतियाबिन्दुका कारण आँखाका ज्योति गुमाएकाले लाभ लिन सक्ने उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा क्लबका निवर्तमान अध्यक्ष हरिहर अधिकारी, नेपाल पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष श्रीराम सिग्देललगायतको सहभागिता थियो ।