अविनाश चौधरी
धनगढी, पुस ६ गते। कैलालीमा टिपरले अटोलाई ठक्कर दिँदा बालकको ज्यान गएपछि स्थानीय आन्दोलित भएका छन्।
गोदावरी नगरपालिका–७ हरैयावासी आन्दोलित भएका हुन्। बुधबार बिहान सु.प.प्र. ०१००१ ह ४९१८ नम्बरको अटोलाई सु.प.प्र. ०१००१ क २०२० नम्बरको टिपरले ठक्कर दिएको थियो।
टिपरको ठक्करबाट अटोमा सवार हरैयाका तीन वर्षीय बालक भरत ठकुल्लाको ज्यान गएको हो। यसैगरी, बालककी आमा पेन्टी ठकुल्ला गम्भीर घाइते हुनु भएको छ। उहाँको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
बालकको ज्यान गएपछि दोषीलाई कडा कारबाही, मृतकका परिवार र अटो चालकलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले आन्दोलन थालेका हुन्। उनीहरूले हरैयामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।
स्थानीय आन्दोलित भएपछि प्रहरी र उनीबीच झडपको स्थिति सिर्जना भएको थियो। स्थानीयले बोतल, सिसी, ढुङ्गा रोडमा थुपारेर आन्दोलन गरेका छन्। स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले कैयौँ राउण्ड अश्रुग्याँस प्रहार गरेको थियो।
टिपर र अटो चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।