• ११ पुस २०८१, बिहिबार

नेपाल टी–२० लिग जित्ने जनकपुरको दाबी

blog

जर्सी सार्वजनिक गर्दै जनकपुरका मालिक, प्रशिक्षक, कप्तानलगायत टोली । तस्बिर : विकास द्वारे

काठमाडौं, पुस ५ गते । जनकपुर रोयल्सले नेपाल टी–२० क्रिकेट लिग जित्ने दाबी  गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा शुक्रबारदेखि त्रिवि मैदान कीर्तिपुरमा आयोजना हुने लिगका लागि जनकपुरले मंगलबार टोलीको कप्तान समेत घोषणा गरेको छ ।

जनकपुरले टोलीको कप्तानमा वेस्ट इन्डिजका ट्रेभोन ग्रिफिनलाई नियुक्त गरेको हो । टिम घोषण र जर्सी सार्वजनिक कार्यक्रममा टोलीका प्रशिक्षक उमेश पटवालले जनकपुरको एउटै लक्ष लिग जित्नुरहेको बताउनुभयो । ‘‘टोलीमा अनुभवी र राम्रा खेलाडी छन् । सबैको मिहेनतमा उपाधि जित्न चाहन्छौँ,’’ पटुवालले भन्नुभयो ।

भारतीय प्रशिक्षक पटुवालले पुनः नेपाल आउन पाएकोमा खुसी समेत व्यक्त गर्नुभयो । टोलीको मार्की खेलाडीमा नेपालका सोमपाल कामी हुनुहुन्छ । सोमपाललाई टोलीको उपकप्तानको जिम्मेवारी पनि दिइएको छ । कप्तान ग्रिफिनले नेपालमा आएर पहिलो पटक क्रिकेट लिग खेल्न पाउनु आफ्ना लागि खुसीको क्षण भएको बताउनुभयो । उहाँले कप्तान बन्न पाउनु थप खुसी र जिम्मेवारीको विषय भएको पनि बताउनुभयो ।

मार्की खेलाडी सोमपालले नेपालमा टी–२० लिग हुनु खेलाडीका लागि राम्रो अवसर भएको बताउनुभयो । उहाँले विदेशी खेलाडीसँग खेल्न पाउँदा प्रदर्शनमा समेत सुधार आउने बताउनुभयो । जनकपुर टोलीमा सोमपाल कामीसहित सन्दीप जोरा, आदिल आलम, दिलीप नाथ, ललित राजवंशी, सुशन भारी, सागर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, राजेश पुलामी र खड्ग बोहरा हुनुहुन्छ ।

विदेशी खेलाडीहरूमा कप्तान ग्रिफिनसहित वेस्ट इन्डिजका चाडविक वाल्टन र केस्रिक वसलियम्स, श्रीलंकनका असान प्रिएनजन, अफगानिस्तानका सरफुद्दिन असरफ र समिउल्लाह सेनवारी हुनुहुन्छ । मंगलबारनै टोलीका मालिक गोविन्द खन्डेलवाल, प्रशिक्षक पटवाल, कप्तान ग्रिफिन, उपकप्तान सोमपाल कामीलगायतले जर्सी सार्वजनिक गर्नुभएको थियो । 

पुस २६ गतेसम्म सञ्चालन हुने फ्रेन्चाईज लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारगरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं नाइट र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । सोही दिन अर्को खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्ट युनाईटेड भिड्नेछन् ।

सहभागी टोलीले डबल राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिग सञ्चालनका लागि क्यानले भारतको ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई जिम्मेवारी समेत दिइसकेको छ । क्यानले ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई आठ वर्षसम्म यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी दिएको हो । जस बापत क्यानलाई ‘सेभेन थ्रीस्पोर्ट्स’ ले वार्षिक चार करोड १२ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने बताईएको छ ।