राधाकृष्ण डुम्रे
वालिङ, पुस ५ गते । स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १३ मा रहेको लक्ष्मी माविका किशोरीहरूले आफूले प्रयोग गरेका सेनिटरी प्याड खाल्टोमा विसर्जन (पुर्न) थालेका छन् ।
प्रयोग गरिएका सेनिटरी प्याडलाई जथाभाबी फाल्दा वातावरण प्रदूषण हुने भन्दै विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा सुरक्षित ठाउँमा खाल्डो खनेर पुर्न सुरु गरिएको विद्यालयका प्रधानाध्यापक सीता गौडेल गैह्रेले जानकारी दिनभयो ।
विद्यार्थीहरूले समूह नै बनाएर साप्ताहिकरुपमा विद्यालयमा सङ्कलन गरिएका सेनिटरी प्याडलाई खाल्डोमा पुर्ने गरेका प्रधानाध्यापक गैह्रेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘‘वातावरणमैत्री शिक्षा विद्यार्थीलाई प्रदान गर्ने गरेका छौं, त्यसकै प्रभावले विद्यार्थीहरू समूह नै बनाएर सेनिटरी प्याडजस्ता काम नलाग्ने वस्तुलाई खाल्डोमा विसर्जन गर्ने गरेका छन् ।’’
अचेल हामीले विद्यार्थीहरूलाई केही भन्नु पर्दैन आफैँ समूह बनाएर विसर्जन गर्ने काम गर्दछन् विद्यालयका वातावरण शिक्षक सुरेशप्रसाद गैह्रेले भन्नुभयो,‘‘हामीले वातावरणले मानवजीवनमा पार्ने महत्त्वका बारेमा विद्यार्थीलाई बुझाउने गरेका छौं, जसले विद्यार्थीमा निक्कै राम्रो प्रभाव पारेको छ ।’’
सेनिटरी प्याड विर्सजका लागि खाल्डो खन्दै गरेकी कक्षा १२ मा अध्ययनरत किशोरी सृष्टि गैह्रेले भन्नुभयो,‘‘हामीहरूले प्रयोग गर्ने गरेका सामग्रीहरू हामी आफैँ व्यवस्थापन गर्ने गरेका छौं । हामीलाई सेनिटरी प्याड व्यवस्थापन गर्दा कुनै लाज लाग्दैन ।’’
साथीहरूको समूह बनाएर साप्ताहिकरुपमा सेनिटरी प्याड विसर्जन गर्ने काम गरेको विद्यार्थी पुष्पा विकले बताउनु भयो ।
विद्यालयमा एक सयभन्दा धेरै विद्यार्थी महिनावारी हुने समूहका रहेका छन् । वालिङ नगरपालिकाले साप्ताहिकरुपमा फोहर सङ्कलन गर्ने गरेको भए पनि विद्यालयको सेनिटरी प्याड लगायतका काम नलाग्ने वस्तुलाई विद्यालयमा नै विद्यार्थीहरूको सक्रियतामा व्यवस्थापन गर्ने काम गरिएको हो । विद्यार्थीहरूले अन्य फोहर पदार्थ सङ्कलन गरेर कम्पोस्ट मलसमेत बनाउने गरेका छन् ।