• २४ असार २०८१, सोमबार

कोरियाबाट उन्नत जातका गाई र साँढे ल्याइँदै

blog

काठमाडौँ, पुस ५ गते  । हेफर इन्टरनेसनल नेपालले नेपाल सरकारलाई १२१ वटा गाई र साँढे दिने भएको छ । 

हेफरले निःशुल्क रूपमा उपलब्ध गराउने ती गाई र साँढे (बाच्छाबाच्छी) आगामी बिहीबार हस्तान्तरण गर्ने भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशुसेवा विभागले माग गरेअनुसार हेफरले यी गाई तथा साँढे उपलब्ध गराउन लागेको हो । 

हेफरले २० वटा होलेस्टेन साँढे (बाच्छा) र १०१ वटा होलेस्टेन गाई (बाच्छी) रहेका छन् । पहिलो चरणमा पुस ७ गते बिहीबार ४२ वटा गाई तथा साँढे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कृषि विभागलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको हेफर इन्टरनेसनलका सञ्चार संयोजक प्रवीण गुरुङले जानकारी दिनुभयो । यी गाई र साँढे दक्षिण कोरियाबाट हवाईजहाजमा काठमाडौँ ल्याइँदै छ । १२१ वटा गाई र साँढेमध्ये सरकारलाई २० वटा साँढे र २० वटा गाई तथा बाँकी किसानलाई वितरण गरिने जनाइएको छ । 

त्यसपछि पुस ८, २५ र २८ गते २१/२१ वटा हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो । बाँकी रहेका गाई र साँढे पनि क्रमशः ल्याएर सरकारलाई हस्तान्तरण गरिनेछ । हेफरले उन्नत जातको पाँच हजार डोज सिमेन (वीर्य) पनि उपलब्ध गराउने भएको छ । 

हेफरले दिएको ती गाई र साँढेमध्ये २० वटा साँढेलाई सरकारले चितवन, पोखरा, लहानलगायतका प्रजनन केन्द्रमा राख्नेछ भने बाँकी रहेका गाई सिन्धुली जिल्लाको कमलामाई नगरपालिकाका किसानलाई हस्तान्तरण 

गर्ने जनाएको छ । किसान, हेफर र कमलामाई नगरपालिकाले गाई राख्नका लागि त्यहाँ ५० वटा गोठ तथा विभिन्न पूर्वाधार तयार गरेका छन् । मुख्य लगानी नगरपालिकाको भए पनि अन्य सबै प्राविधिक सहयोग हेफरले गर्ने भएको छ । घाँस उत्पादनदेखि अन्य आवश्यक व्यवस्था हेफरको सहयोगमा हुने बताइएको छ । 

यी प्रत्येक गाईमा चिप्स जडान भएका छन्, जसको माध्यमबाट दक्षिण कोरियाबाट गाईको स्वास्थ्यलगायतका कुरामा निगरानी हुने बताइएको छ । त्यसको रेखदेखको जिम्मा पशुसेवा विभागको पनि हो तर मुख्य जिम्मेवारी कोरिया सरकारको हुने बताइएको छ ।  हेफर इन्टरनेसनलले दिएको यी गाई र साँढेबाट मिल्की परियोजना सञ्चालन गरिने भएको छ । सो परियोजना हेफर इन्टरनेसनल, पशुसेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्डले सञ्चालन गर्ने जानकारी गराइएको छ तर त्यो परियोजना स्वीकृत हुने प्रक्रियामा नै रहेको बताइएको छ ।

दूध तथा दुग्धजन्य पदार्थको अभावलाई कम गर्न हेफरले नेपाललाई यी गाई तथा साँढे सहयोग गरेको हो । यसले नेपालको आर्थिक समृद्धिमा पनि सहयोग पु-याउने विश्वास हेफर इन्टरनेसनलले लिएको बताइन्छ । पछिल्लो समय दूधको अभाव भएपछि डेरी उद्योगीले भारतबाट ल्याएर काम चलाएका छन् । 

नेपालमा गाई तथा भैँसी पर्याप्त छन् तर उन्नत जातका नभएका कारण चाहिएको जति दूध उत्पादन भइरहेको छैन । त्यसले गर्दा बेलाबेलामा दूधको अभाव हुने गरेको छ । यसअघि सरकारले गत फागुनमा अमेरिकाबाट पनि उन्नत जातका सातवटा साँढे ल्याएको थियो । भारतबाट मुर्रा जातका भैँसी ल्याउने तयारी पनि भइरहेको छ ।